एजेन्सी– भारतमा मतदाता सूचीको ‘विशेष गहन संशोधन’ लाई लिएर विवाद चर्किरहेका बेला ‘कक्रोच’ युवा आन्दोलनले मुम्बईमा प्रदर्शन गरेको छ।
शुक्रबार भएको प्रदर्शनमा आन्दोलनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले मतदाता सूची संशोधनको प्रक्रियामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगको जवाफदेहिता र लोकतान्त्रिक संस्थाको पारदर्शिताको विषय पनि उठाएका छन्।
अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिएका थिए । यसैबीच, विद्यार्थी तथा नागरिक समाजका समूहले पनि समान मागसहित नयाँदिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने भएका हुन् ।
यसैबीच विद्यार्थी तथा नागरिक समाजसँग सम्बन्धित समूहहरूले पनि नयाँदिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने तयारी गरेका छन्। उनीहरूले मतदाता सूची संशोधनको प्रक्रिया पुनरावलोकन गर्नुपर्ने र निर्वाचन आयोग जवाफदेही बन्नुपर्ने माग अघि सारेका छन्।
मतदाता सूचीको विशेष गहन संशोधन बिहारबाट सुरु भएर भारतका अधिकांश राज्य तथा केन्द्रशासित क्षेत्रमा विस्तार गरिएको छ। आलोचकहरूले आवश्यक कागजात जुटाउन नसक्दा ठूलो संख्यामा योग्य मतदाता सूचीबाट बाहिरिन सक्ने आशंका व्यक्त गरेका छन्।
विपक्षी दल तथा आलोचकहरूले संशोधनका क्रममा भारतीय जनता पार्टीलाई राजनीतिक लाभ पुग्ने गरी मतदाता सूचीमा परिवर्तन गरिएको आरोप लगाउँदै आएका छन्। तर निर्वाचन आयोग र सरकारले भने यस्तो आरोप अस्वीकार गर्दै संशोधनको उद्देश्य दोहोरो तथा अयोग्य नाम हटाएर योग्य मतदाताको सूची अद्यावधिक गर्नु रहेको बताएका छन्।
यसअघि द इन्डियन एक्सप्रेस ले निर्वाचन आयोगका तीनमध्ये दुई आयुक्तले मतदाता सूची संशोधन, दर्ता प्रक्रिया तथा डिजिटल प्रणालीसम्बन्धी केही निर्णयमा असहमति जनाएको रिपोर्ट प्रकाशित गरेको थियो। आयोगले भने त्यसलाई औपचारिक लिखित आपत्ति नभई आयुक्तहरूबीचको आन्तरिक छलफल र फरक मतका रूपमा व्याख्या गरेको थियो।




प्रतिक्रिया