काठमाण्डु- नेपाली कांग्रेसले आसन्न १५औँ महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय गरेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी र पछिल्लो पटक गण्डक क्षेत्रको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा महाधिवेशनलाई भड्किलो नबनाउने निर्णय कांग्रेसले गरेको हो ।
कांग्रेसका प्रवक्ता तथा १५औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समिति संयोजक देवराज चालिसेले शुक्रबार महाधिवेशन स्थलमा एउटा मूल गेटबाहेक अन्य प्रचार सामग्री नराखिने जानकारी दिए।
काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरका करिब १०० डिजिटल बोर्डमार्फत महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्न थालिएको उनले बताए।
महाधिवेशनमा उम्मेदवार बन्ने नेताहरूलाई समेत प्रचारप्रसारका लागि डिजिटल माध्यम मात्रै प्रयोग गर्न पार्टीले आग्रह गरेको छ।
चालिसेले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा अझै हजारौँ मानिस हराइरहेको र सयौँ परिवार बिछोडिएकाले यो कदम चालिएको उल्लेख गरे।
त्यस्तै सयौँ बालबालिका अभिभावकविहीन भएको तथा असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण पनि दर्जनौँ मानिसको ज्यान गएको उनले बताए।
७ हजार ७ सयभन्दा बढी प्रतिनिधि
कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।
प्राकृतिक विपद्का कारण दुई दिनपछि सरेको महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुनेछ। असोज १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन गर्ने तयारी छ।
खुलामञ्चमा उद्घाटनका लागि मञ्च निर्माण तीव्र गतिमा भइरहेको छ। बन्द सत्रका लागि पनि छुट्टाछुट्टै हलको तयारी भइरहेको कांग्रेसले जनाएको छ। कार्यक्रमस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिनेछ।
प्रतिनिधिलाई सात क्षेत्रमा बास
महाधिवेशन प्रतिनिधिको आवास व्यवस्थापनका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ।
आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक-एक जना संयोजक तोकेर सम्बन्धित क्षेत्रका प्रतिनिधिको बसोबास समन्वय गर्ने व्यवस्था गरेको छ।
आवास तथा कार्यक्रमस्थलसम्मको आवतजावत खर्च भने सहभागी आफैँले बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ। प्रतिनिधिका लागि बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भृकुटीमण्डपमा गरिएको छ।
प्रमुख दलका नेता सहभागी हुने
कांग्रेसका अनुसार महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने निश्चित भएको छ।
उद्घाटनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने भएका छन्।
त्यस्तै श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि सहभागी हुने कांग्रेसले जनाएको छ।
अन्तर्राष्ट्रिय अतिथितर्फ सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य अन्तर्राष्ट्रिय अतिथिको सहभागिता पनि सुनिश्चित गर्ने प्रक्रिया जारी रहेको चालिसेले बताए।
दैनिक पत्रकार सम्मेलन
कांग्रेसले १५औँ महाधिवेशनका गतिविधि र तयारीबारे अब हरेक दिन पत्रकार सम्मेलन गर्ने भएको छ।
चालिसेका अनुसार शनिबारदेखि महाधिवेशन स्थलमै स्थापना गरिने मिडिया सेन्टरबाट दैनिक पत्रकार सम्मेलन हुनेछ।




प्रतिक्रिया