नयाँदिल्ली – प्रधानमन्त्री बनेपछि अहिलेसम्म नेपाली पत्रकारहरूसँग प्रत्यक्ष संवाद नगरेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतमा भने भारतीय समकक्षी नरेन्द्र मोदीसँगै संयुक्त पत्रकार सम्मेलनमा उभिने भएका छन् ।
२०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्रले प्रधानमन्त्री बनेयता अहिलेसम्म कुनै पत्रकार सम्मेलन गरेका छैनन् ।
सरकारका निर्णय, राजनीतिक घटनाक्रम र समसामयिक विषयमा प्रधानमन्त्रीको धारणा सार्वजनिक गर्न नियमित पत्रकार सम्मेलन गर्ने अभ्यासबाट समेत उनी टाढै छन् ।
निर्वाचनअघि र निर्वाचनपछि पनि उनले पत्रकार सम्मेलनमार्फत् पत्रकारहरूसँग प्रत्यक्ष संवाद गरेको देखिएको छैन । काठमाण्डु महानगरपालिकाको मेयर हुँदा पनि उनी कहिल्यै पत्रकारमाझ प्रस्तुत भएनन् ।
प्रधानमन्त्री बनेपछि नेपाली सञ्चारमाध्यम र पत्रकारहरूसँग प्रत्यक्ष संवाद नगरेका बालेन पहिलो विदेश भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगै संयुक्त पत्रकार सम्मेलनमा देखिने भएका हुन् । उनको सचिवालयले समेत संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम निश्चित भएको जनाएको छ ।
भारतको औपचारिक भ्रमण पूरा गरी आइतबार मंसिर ७ गते नेपाल फर्किनुअघि प्रधानमन्त्री वालेन्द्र र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा भएका सहमति, समझदारी, सम्झौता तथा उपलब्धिबारे दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा जानकारी गराउनेछन् । तर त्यहाँ सवाल–जवाफ हुनेछैन । मोदीसमेत वालेन्द्रजस्तै पत्रकारसँग सवाल–जवाफ मन पराउँदैनन् । उनले पनि भारतमा पत्रकार सम्मेलनमा एक्लै उभिएको घटना विरलै छ ।
निर्धारित कार्यसूचीअनुसार सोमबार दिउँसो १२:३५ बजे विभिन्न परियोजनाको विद्युतीय माध्यमबाट उद्घाटन, समझदारीपत्र (एमओयू) तथा सम्झौता आदानप्रदान र दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
तर संयुक्त पत्रकार सम्मेलनमा पत्रकारले प्रधानमन्त्रीद्वयलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने कार्यक्रम राखिएको छैन । अर्थात् दुवै प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने भए पनि पत्रकारका प्रश्नको सामना गर्ने छैनन् ।
प्रश्नोत्तर कार्यक्रम छुट्टाछुट्टै हुने कार्यसूची छ । नेपालका तर्फबाट प्रधानमन्त्री स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले सञ्चारकर्मीका प्रश्नको जवाफ दिनेछन् । भारतका तर्फबाट त्यहाँका विदेशमन्त्री एस जयशंकरले पत्रकारहरूसँग संवाद गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बनेपछि सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद नगरेका बालेनको सहभागितालाई उनको सार्वजनिक सञ्चार शैलीका दृष्टिले पनि चासोका साथ हेरिएको छ । नेपालमा पत्रकारहरूसँग प्रश्नोत्तरबाट टाढा रहेका प्रधानमन्त्रीले भारतमा संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्नो भ्रमणबारे सार्वजनिक जानकारी दिनेछन् ।



प्रतिक्रिया