काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।
बागलुङको निसीखोला गाउँपालिकाका ६८ घरपरिवार र पर्वतको जलजला गाउँपालिकाका ३० घरपरिवारलाई एनआरएनएले राहत सामग्री उपलब्ध गराएको हो।
निसीखोला जाने मुख्य सडक बाढीका कारण अवरुद्ध भएपछि एनआरएनएको टोलीले वैकल्पिक मार्ग प्रयोग गरी करिब सात घण्टाको यात्रा गरेर प्रभावित क्षेत्रमा पुगेको थियो।
बुटवल–पाल्पा–रिडी–वामीटक्सार–बुर्तिबाङ हुँदै निसीखोला पुगेको टोलीले स्थानीय बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो।
एनआरएनएका उपाध्यक्ष एवम् विपद् व्यवस्थापन समितिका संयोजक मनोजकुमार श्रेष्ठ र प्रवक्ता सोम सापकोटाको सहभागितामा वडाध्यक्ष सूर्यबहादुर घर्तीको समन्वयमा राहत वितरण गरिएको थियो।
त्यसैगरी, पर्वतको जलजला गाउँपालिका–४, ७ र ८ अन्तर्गत फर्से, ताङमाङ र लामाखेत क्षेत्रमा पुगेर ३० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यको समन्वयमा प्रभावित परिवारलाई राहत हस्तान्तरण गरिएको हो।
प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर दुवै स्थानमा त्रिपाल, म्याट, ब्ल्याङ्केट, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत प्याकेज वितरण गरिएको एनआरएनएले जनाएको छ।
प्रतिपरिवार एक थान त्रिपाल, एक थान म्याट, एक थान ब्ल्याङ्केट, एक थान बाल्टिन, एक थान सानो मग, २५ किलो चामल, ५ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, ५०० ग्राम मसला तथा साबुन, मञ्जन र ब्रससहितका सामग्री उपलब्ध गराइएको छ।

काजकिरिया सकेका थप चार परिवारलाई राहत
भोटेकोशी नदीको बाढीमा आफन्त गुमाएर काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा बसिरहेका थप चार प्रभावित परिवारलाई पनि एनआरएनएले राहत सामग्री उपलब्ध गराएको छ।
एनआरएनए सचिवालयबाट प्रभावित परिवारलाई ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका सामग्री वितरण गरिएको हो। यसअघि पनि यस्तै प्रकृतिको राहत ४४ परिवारलाई उपलब्ध गराइएको एनआरएनएले जनाएको छ।
रसुवा जाने टोली रोकियो
रसुवाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्न जाने तयारीमा रहेको एनआरएनएको टोली प्राविधिक समस्याका कारण रोकिएको छ।
टोलीले अब पर्सि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने जनाएको छ। रसुवाका ७५ घरपरिवारलाई राहत सामग्री वितरण गर्ने तयारी गरिएको छ। स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित परिवारको पहिचान गरिएको एनआरएनएले जनाएको छ।
६ करोड ३४ लाख बढी संकलन
गत भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितका लागि एनआरएनएले सञ्चालन गरेको राहत अभियानमा सहयोग रकम प्राप्त हुने क्रम जारी छ।
‘भोटेकोशी–रसुवा बाढी २०२६’ को वित्तीय प्रतिवेदनअनुसार अभियानका लागि कुल ९ करोड ३७ लाख ८१ हजार २२६ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ। त्यसमध्ये हालसम्म ६ करोड ३४ लाख ४१ हजार १४३ रुपैयाँ संकलन भएको एनआरएनएले जनाएको छ।





प्रतिक्रिया