काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी राष्ट्रिय आर्थिक हित र समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) ले आयोजना गरेको ‘चौथो आईडा लेक्चर सिरिज’मा ‘समृद्ध नेपालका लागि आर्थिक कूटनीतिः आर्थिक हितसँग विदेश नीतिको सामञ्जस्य’ विषयमा प्रस्तुति दिँदै मन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको विकास रणनीतिको अभिन्न अंग बनाउनुपर्ने बताएका हुन्।
उनले व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारलाई विदेश नीतिका महत्वपूर्ण आर्थिक प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए।
बदलिँदो विश्व अर्थव्यवस्था, क्षेत्रीय प्रतिस्पर्धा र भू–राजनीतिक परिस्थितिबीच नेपालले आफ्ना कूटनीतिक सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सक्नुपर्ने उनको भनाइ थियो।
मन्त्री खनालले विदेशस्थित नेपाली नियोगलाई व्यापार, लगानी तथा आर्थिक सहकार्यका सक्रिय प्रवर्द्धकका रूपमा परिचालन गर्नुपर्ने बताए। आर्थिक कूटनीति कुनै एक मन्त्रालय वा सरकारी निकायको मात्र जिम्मेवारी नभई राज्यका सबै निकाय, निजी क्षेत्र, उद्यमी, व्यवसायी तथा प्रवासी नेपाली समुदायको साझा प्रयासबाट अघि बढाउनुपर्ने उनले बताए।
‘विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्छ,’ उनले भने।
नेपालको निर्यात क्षमता विस्तार र नेपाली वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउन पनि विदेशस्थित नेपाली नियोगले सक्रिय भूमिका खेल्नुपर्ने मन्त्री खनालले बताए। बजार पहिचान, व्यापारिक सम्बन्ध विस्तार तथा आर्थिक साझेदारी विकासमा नियोगको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
त्यस्तै, पर्यटनलाई आर्थिक कूटनीतिको महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउनुपर्ने उनले बताए। नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै पर्यटक आगमन बढाउन कूटनीतिक माध्यमको प्रभावकारी उपयोग गर्नुपर्ने उनले बताए।
मन्त्री खनालका अनुसार पर्यटन क्षेत्रको विस्तारले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्याउन सक्छ। त्यसैले पर्यटनलाई राष्ट्रिय आर्थिक प्राथमिकतासँग जोडेर अघि बढाउनुपर्ने उनले बताए।
आर्थिक कूटनीतिमार्फत वैदेशिक सहायता र लगानीसँगै ज्ञान, सीप, प्रविधि तथा नवप्रवर्तनको आदानप्रदानलाई पनि अघि बढाउन सकिने मन्त्री खनालले बताए। अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालको उत्पादन क्षमता बढाउँदै विश्वव्यापी मूल्य शृङ्खलामा सहभागिता विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
उनले प्रवासी नेपाली समुदायलाई नेपालको आर्थिक विकासको साझेदारका रूपमा परिचालन गर्नुपर्ने बताए। विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी, व्यावसायिक सञ्जाल र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न सकिने भन्दै उनीहरूसँगको सम्बन्धलाई आर्थिक सहकार्य तथा लगानी प्रवर्द्धनसँग जोड्नुपर्ने उनको धारणा थियो।
‘आर्थिक कूटनीतिलाई परिणाममुखी, व्यावहारिक र राष्ट्रिय प्राथमिकतामा आधारित बनाउनुपर्छ,’ मन्त्री खनालले भने, ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबाट प्राप्त अवसरलाई उत्पादन, व्यापार, लगानी र रोजगारीमा रूपान्तरण गर्न सके मात्र कूटनीतिक सम्बन्धले राष्ट्रिय समृद्धिमा प्रभावकारी योगदान पुर्याउन सक्छ।’
कार्यक्रमपछि मन्त्री खनालसँग पत्रकार कुवेर चालिसेले संवाद गरेका थिए। सहभागीहरूले राखेका विभिन्न प्रश्नको पनि मन्त्री खनालले जवाफ दिएका थिए।




प्रतिक्रिया