‘बिसे नगर्चीको बयान’पछि १६ वर्षमा श्रवण मुकारुङले ल्याए कविता संग्रह

‘बिसे नगर्चीको बयान’पछि १६ वर्षमा श्रवण मुकारुङले ल्याए कविता संग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा आएको छ। ‘सलह’ उपन्यास प्रकाशन गरेको एक वर्षपछि मुकारुङले नयाँ कविता संग्रह सार्वजनिक गरेका हुन्।

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि आएको यो संग्रहमा पछिल्लो डेढ दशकमा लेखिएका उनका कविता समेटिएका छन्। चार दशकदेखि साहित्य तथा कलाका विभिन्न विधामा सक्रिय मुकारुङको यो चौथो कविता संग्रह हो।

संग्रहमा उनका राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनासँग जोडिएका कलात्मक कविता समेटिएका छन्।

‘मेरो साहित्यिक यात्राको मूल बाटो त कविता नै हो। कवितामै मेरो जीवन संघर्ष जोडिएको छ। ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ संग्रहमा ‘बिसे नगर्चीको बयान’पछिका कविता पढ्न सक्नुहुनेछ, जहाँ मेरा अनुभव र अभ्यासले अझ परिष्कृत कविता पढ्न पाउनुहुनेछ,’ मुकारुङले भने।

पब्लिकेसन नेपालयबाट प्रकाशित संग्रह २१२ पृष्ठको छ। यसको मूल्य ६२५ रुपैयाँ तोकिएको छ।

नेपालयका सम्पादक विमल आचार्यले मुकारुङलाई अग्रज र अनुज पुस्ताका कविहरूबीचको सेतुका रूपमा सक्रिय स्रष्टाका रूपमा चित्रण गरे।

‘कवि श्रवण मुकारुङ अग्रज र अनुज पुस्ताका कविहरूको सेतुका रूपमा सक्रिय छन्। उनी कलाको फुलटाइम कार्यकर्ता हुन्,’ आचार्यले भने, ‘राजनीति, समाज, संस्कृतिलाई साहित्यिक–कलात्मक कलेवरमा प्रस्तुत गर्ने सीप श्रवण मुकारुङमा अद्भुतै छ।’

लामो समयपछि मुकारुङका कविता एउटै संग्रहमा पढ्न पाउने अवसर आएको उल्लेख गर्दै आचार्यले ‘सलह’पछि पुनः प्रकाशन सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

मुकारुङ पछिल्लो पाँच वर्षदेखि शनिवासरीय साप्ताहिक कविता शृंखला ‘नेपालय ई–कविता’का संयोजक छन्। पछिल्लो पाँच महिनायता नेपालयको आरशालामा आयोजना हुँदै आएको ‘काव्य–श्रवण’ नामक मासिक कार्यक्रम पनि उनले संयोजन गर्दै आएका छन्।

कवितासँगै गीत लेखनमा समेत स्थापित मुकारुङको गत वर्ष नेपालयबाटै प्रकाशित ‘सलह’ उपन्यासले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो।

‘आवाज नआइपुग्ने मेघको उज्यालो’ देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा असोज १८ गतेसम्म सञ्चालन भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा नेपालयको स्टलबाट पुस्तक विशेष छुटमा किन्न सकिनेछ।