काठमाण्डु– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउँदै प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको बताएका छन्।
विश्वव्यापी यातायात मार्गको विकाससम्बन्धी कार्यक्रममा बिहीबार सम्बोधन गर्दै पुटिनले भारतसँगको सहकार्य रसद व्यवस्थापनमा मात्र सीमित नरहेको स्पष्ट पारे। उनले अन्तर्राष्ट्रिय व्यापारिक करिडोरको संयुक्त विकास र प्रयोगका विषयमा भारतसँग छलफल भइरहेको जानकारी दिए।
पुटिनका अनुसार रुसले चीन र दक्षिण कोरियाका व्यावसायिक जहाजसँग सहकार्य अघि बढाइसकेको छ। यस्ता अन्तर्राष्ट्रिय करिडोरको विकास तथा सञ्चालनमा भारतलाई समेत जोड्ने विषयमा छलफल भइरहेको उनले बताए।
विशेषगरी अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात करिडोर (आईएनएसटीसी) को विकासमा रुसले ऋण स्रोत उपलब्ध गराउन तयार रहेको पुटिनले बताए। तर, करिडोरको इरानतर्फको पूर्वाधार निर्माणको काम पूरा हुनुपर्ने उनको भनाइ छ।
आईएनएसटीसीको केही हिस्सा अजरबैजान हुँदै जाने भएकाले त्यस विषयमा अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभसँग सम्पर्क भइरहेको र अजरबैजान पनि सहमत रहेको पुटिनले जानकारी दिए।
यसैबीच, रुसी राष्ट्रपति पुटिनले युक्रेन द्वन्द्व अन्त्यका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेको प्रयासको समेत प्रशंसा गरेका छन्।
मोदीले पारस्परिक रूपमा स्वीकार्य र शान्तिपूर्ण समाधान खोज्न निरन्तर जोड दिइरहेको उल्लेख गर्दै पुटिनले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्ने भारतीय प्रधानमन्त्रीको इच्छाप्रति आफूहरू आभारी रहेको बताए।
यसअघि अगस्टको सुरुआतमा रुसी उपप्रधानमन्त्री मारात खुसनुलिनले बोस्फोरस र हर्मुज जलघाँटीसँग सम्बन्धित पारवहन जोखिम कम गर्न हिन्द महासागर जोड्ने प्रत्यक्ष रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने बताएका थिए।
उनले तुर्कमेनिस्तान, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै भारतसम्म पुग्ने वैकल्पिक व्यापारिक मार्गको प्रस्ताव गरेका थिए।
अमेरिका, इजरायल र इरानबीचको सशस्त्र तनावपछि हर्मुज जलघाँटीमा बढेको समुद्री अवरोधका कारण वैकल्पिक व्यापारिक मार्गको चर्चा थप तीव्र भएको हो। विश्वव्यापी तेल व्यापारको करिब २५ प्रतिशत र एलएनजी ढुवानीको करिब २० प्रतिशत हिस्सा यही जलघाँटी हुँदै हुने भएकाले हर्मुजको पारवहन व्यवस्था अन्तर्राष्ट्रिय व्यापारका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। –एजेन्सी




प्रतिक्रिया