काठमाण्डु– काठमाण्डु सभामुख डोलप्रसाद अर्यालले विदेश भ्रमणकै लागि संसद् बैठक बन्द गरेर जान लागेको भन्ने केही सञ्चारमाध्यमको टिप्पणीप्रति आपत्ति जनाएका छन्।
शुक्रबार अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५३औँ महासभामा सहभागी हुन तान्जानिया जाने जानकारी गराउँदै उक्त टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन्।
उनले सञ्चारमाध्यमलाई तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न र अफवाह फैलिने खालका समाचार प्रकाशन नगर्न आग्रह गरेका छन्।
‘सञ्चारमाध्यमले विभिन्न अफवाह फैलिने खालका समाचार तथा जानकारी सम्प्रेषण नगर्न पनि आह्वान गर्दछु,’ उनले भने।
सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज १८ गते तान्जानियामा हुने आईपीयू महासभामा सहभागी हुन लागेका हुन्। महासभामा १८३ देशका सभामुख तथा सांसदहरूको सहभागिता रहनेछ।
महासभामा नेपालले जलवायु परिवर्तनले पारेको प्रभाव, जलवायु न्याय तथा नेपालको सङ्घीय संसद्सँग सम्बन्धित विषयमा विशेष प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको अर्यालले जानकारी दिएका छन्।
उनका अनुसार प्रस्तावका लागि समर्थन जुटाउन परराष्ट्र मन्त्रालयमार्फत ५० भन्दा बढी राष्ट्रसँग समन्वय भइरहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा राखेको विषयमा आधारित भएर संसारभरका सभामुखहरूसँग जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव, असर तथा जलवायु न्यायका लागि सहयोग गर्न आह्वान गर्ने सभामुख अर्यालले बताए ।




प्रतिक्रिया