विकल पौडेलसँग ४१ करोड ९४ लाख गैरकानुनी सम्पत्ति, साढे २ वर्ष कैद

विकल पौडेलसँग ४१ करोड ९४ लाख गैरकानुनी सम्पत्ति, साढे २ वर्ष कैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार पौडेललाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएको हो।

अदालतले पौडेलले ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको छ। त्यही बराबरको रकम जरिवाना गर्ने र गैरकानुनी ठहर भएको सम्पत्ति जफत गर्ने फैसला पनि अदालतले गरेको छ।

अदालतका अनुसार पौडेलको वैधानिक आम्दानी ४ करोड १६ लाख रुपैयाँ रहेको देखिए पनि सो अवधिमा उनको खर्च तथा लगानी ४६ करोड ११ लाख रुपैयाँ पुगेको थियो।

आम्दानीको तुलनामा खर्च तथा लगानी अस्वाभाविक रूपमा बढी देखिएको रकमलाई अदालतले गैरकानुनी सम्पत्ति ठहर गरेको हो।

पौडेलले विदेशमा परामर्श सेवा प्रदान गरी आर्जन गरेको दाबी गरिएको २ करोड ७७ लाख ७५ हजार ३८४ रुपैयाँलाई समेत अदालतले वैध आम्दानी नमानेको छ।

उनी त्यही अवधिमा नेपाल सरकारको सेवामा रहेको र सरकारी सेवामा रहँदा अनुमति नलिई विदेशमा काम गरी आम्दानी गरेको देखिएकाले उक्त रकमलाई वैधानिक मान्न नमिल्ने अदालतको ठहर छ।

पौडेल २०७४ देखि २०८० सालसम्म सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलले ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आयोगको मागभन्दा कम रकमलाई गैरकानुनी सम्पत्ति ठहर गर्दै विशेष अदालतले मुद्दामा आंशिक ठहर गरेको हो।

पौडेल कार्यकारी निर्देशक रहेका कारण उनलाई थप ६ महिना कैद सजायसमेत सुनाइएको छ।