हेलो सरकारमा परेका १ लाख ८४ हजार गुनासोमध्ये ५३ प्रतिशत मात्र फर्छ्यौट, प्रहरीविरुद्ध सबैभन्दा धेरै उजुरी

हेलो सरकारमा परेका १ लाख ८४ हजार गुनासोमध्ये ५३ प्रतिशत मात्र फर्छ्यौट, प्रहरीविरुद्ध सबैभन्दा धेरै उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गगत नागरिकका गुनासो राख्ने संयन्त्र ‘हेलो सरकार’ मा हालसम्म १ लाख ८४ हजार ८ सय गुनासो दर्ता भएका छन् ।


तीमध्ये ९८ हजार १ सय ७८ वटा अर्थात् ५३.१३ प्रतिशत गुनासो मात्र फर्छ्यौट भएका छन् ।

सम्बन्धित निकायले गुनासो हेरे पनि प्रक्रिया अघि नबढेका २५ हजार ७ सय १ (१३.९१ प्रतिशत) छन् । त्यस्तै २५ हजार २ सय ३३ (१३.९१प्रतिशत) गुनासो सम्बन्धित निकायबाट प्रक्रिया तथा अनुसन्धानको चरणमा छन् ।


सम्बन्धित निकायले अझै नहेरेका गुनासोको संख्या १३ हजार ९७ ९७.०९ (प्रतिशत) छ ।

हेलो सरकारमा सबैभन्दा धेरै गुनासो प्रहरी प्रधान कार्यालयविरुद्ध परेको छ । प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित गुनासोको संख्या १४ हजार ४ सय २९ छ ।

गुनासो संख्याका आधारमा नेपाल विद्युत प्राधिकरण दोस्रो स्थानमा छ । प्राधिकरणविरुद्ध ७ हजार ५ सय १ गुनासो दर्ता भएका छन् ।

गुनासो बढी परेका अन्ययमा क्रमशः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयविरुद्ध ४ हजार ५ सय ५, गृह मन्त्रालयविरुद्ध ४ हजार ४ सय ९ र शिक्षा तथा खेलकुद मन्त्रालयविरुद्ध ३ हजार ८ सय १४ छ ।


यस्तै काठमाडौं महानगरपालिकाविरुद्ध ३ हजार ५ सय ६ गुनासो दर्ता भएको छ । देशभरका कूल ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै गुनासो पर्नेमा काठमाण्डु महानगर अगाडि छ ।


त्रिभुवन विश्वविद्यालयविरुद्ध ३ हजार ३ सय ९९, सडक विभागविरुद्ध ३ हजार ३ सय ४२, एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) विरुद्ध ३ हजार १ सय ३२ र यातायात व्यवस्था विभागविरुद्ध २ हजार ४ सय २८ गुनासो दर्ता भएका छन् ।

नागरिकले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका सम्वद्ध पदाधिकारी र कर्मचारीले घूस माग्ने, काममा ढिलासुस्ती र बहानावाजी गर्ने, चिनजान, नातागोता र निकटका व्यक्ति तथा आम सेवाग्राहीबीच फरक व्यवहार गर्ने गरेको उल्लेख गरेका छन् ।
वेबसाइट र नागरिक एपबाट अधिकांश गुनासो
हेलो सरकारमा गुनासो दर्ता गर्न नागरिकले सबैभन्दा बढी वेबसाइट र नागरिक एप प्रयोग गरेको तथ्यांकले देखाएको छ ।
कुल गुनासोमध्ये ५१.५८५ प्रतिशत वेबसाइट र ३८.२७६ प्रतिशत नागरिक एप मार्फत दर्ता भएका छन् ।

यी दुई माध्यमबाट मात्रै करिब ९० प्रतिशत गुनासो दर्ता भएका छन् ।
त्यस्तै ह्वाट्सएपबाट ३.७६२ प्रतिशत, इमेलबाट २.०९४ प्रतिशत र राष्ट्रिय कलबाट २.०७१ प्रतिशत गुनासो आएका छन् ।

ट्विटरबाट ०.६२७ प्रतिशत, फेसबुकबाट ०.५३७ प्रतिशत, भाइबरबाट ०.४३७ प्रतिशत र निवेदनमार्फत ०.४३१ प्रतिशत गुनासो दर्ता भएका छन् ।

कार्यालयमै उपस्थित भएर ०.११८ प्रतिशत, अन्तर्राष्ट्रिय कलबाट ०.०२० प्रतिशत र इन्स्टाग्रामबाट ०.००३ प्रतिशत गुनासो दर्ता भएका छन् ।