नेपालगन्ज– विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैल्याउन आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि विशाल बोहरा र आयुष्मा सिंहले जितेका छन्।
शनिबार खजुराको सीतापुर गौघाटमा आयोजित दौडअन्तर्गत छात्रतर्फको ६ किलोमिटरमा शुक्र माद्यमिक विद्यालयका विशाल बोहरा प्रथम भए। जनसेवा माविका उपेन्द्र बम दोस्रो र त्यही विद्यालयका निशान्त विक तेस्रो भए।
३ किलोमिटर छात्रातर्फ जनता माविकी आयुष्मा सिंह प्रथम भइन्। उक्त विद्यालयकी कविता क्षेत्री दोस्रो र जनसेवा माविकी मेलिसा घर्ती तेस्रो भइन्।
१२ वर्षमुनिको किड्स रनमा छात्रतर्फ योगिनी माविका शिव विक प्रथम, जनसेवा माविका शिशिर सुनार दोस्रो र योगिनी माविका समीर सार्की तेस्रो भए।
छात्रातर्फ जनसेवा माविकी सिम्रन दमाई प्रथम, नेरा प्रावि गुराँसपुरकी वर्षा चन्द ठकुरी दोस्रो र योगिनी माविकी करुणा चनारा तेस्रो भइन्।
कार्यक्रममा योगिनी माविलाई बेस्ट पार्टिसिपेसन अवार्ड र शुक्र माविलाई फास्टेस्ट रजिस्ट्रेसन अवार्ड प्रदान गरिएको थियो।
योगिनी माविले १९२ जना सहभागी गराएको थियो भने शुक्र माविले सबैभन्दा पहिले ७५ जनाको दर्ता गराएको थियो।
त्यस्तै, ३ किलोमिटर दौड पूरा गरेका ८५ वर्षीय शोकबहादुर खत्री र ८० वर्षीय धनबहादुर महतारालाई विशेष सम्मान गरिएको थियो। सुस्त श्रवण भएका ६ जना सहभागीले पनि दौड पूरा गरेका थिए।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रत्न खत्री, खजुरा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष धनराम ओली, विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाय र केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेडले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे।
खजुरा गाउँपालिका वडा नम्बर २ को सहकार्यमा आयोजित दौड पूरा गर्ने करिब ७ सय सहभागीलाई ताइवानी अम्बाको बिरुवा वितरण गरिएको थियो। दौड पूरा गर्ने सबैलाई पदकसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
हरेक विधाका शीर्ष १२ खेलाडीलाई आगामी मंसिर ५ गते हुने १२औँ धारा नेपालगन्ज म्याराथनमा स्वतः सहभागी गराइने धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए।
आयोजकका अनुसार एक वर्षपछि सबैभन्दा राम्रोसँग बिरुवा हुर्काउने १० जनालाई विशेष रूपमा पुरस्कृत गरिनेछ। यसले विद्यार्थी, शिक्षक र अभिभावकलाई बिरुवा संरक्षणमा थप उत्साहित गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्यसचिव भीम ओलीले बताए।
हरेक वर्ष असोजको पहिलो साता गौघाट ग्रीन रन आयोजना गरिने आयोजकले जनाएको छ। धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा आयोजना हुँदै आएको ग्रीन रनमा रोटरी क्लब अफ बाँके, एम्स, खजुरा वडा नम्बर २, प्रज्ञालय, गोपाल नीना फाउन्डेसन र योगिनी युवा क्लबको सहकार्य छ।\





प्रतिक्रिया