युवा नेतृ अम्बिका चलाउने सुदूरपश्चिम भूगोलबाट कांग्रेस केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

युवा नेतृ अम्बिका चलाउने सुदूरपश्चिम भूगोलबाट कांग्रेस केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिमकी युवा नेतृ अम्बिका चलाउनेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

उनले सुदूरपश्चिम भूगोलबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा जाने तयारीसहित चुनावी अभियान थालेकी छन्। अछाम कांग्रेसका प्रतिनिधिहरूसहित अहिले उनले महाधिवेशनका लागि प्रचार अभियान पनि थालिसकेकी छन्।

विद्यार्थी राजनीतिबाट कांग्रेसमा जोडिएकी चलाउनेले पार्टीको १२औँदेखि १५औँ महाधिवेशनसम्म अछाम क्षेत्र नम्बर २ बाट लगातार सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बन्दै आएकी छन्।

उनी २०६५ सालमा नेपाल विद्यार्थी संघबाट अछामको पञ्चदेवल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित भएकी थिइन्। त्यसबेलादेखि नै विद्यार्थी राजनीतिमा नेतृत्वदायी भूमिका खेलेकी उनी स्ववियु सभापतिमा निर्वाचित भएदेखि निरन्तर सक्रिय राजनीतिमा छिन्।

चलाउनेले नेपाल विद्यार्थी संघको केन्द्रीय सह-महामन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छन्। हाल उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सह-महामन्त्री छन्। उनी अहिले अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुखका रुपमा पनि कार्यरत छिन्।

कांग्रेसभित्र संगठन निर्माणमा सक्रिय र कार्यकर्तामाझ युवा नेतृका रूपमा परिचित चलाउनेले आफ्नो उम्मेदवारीमार्फत् पार्टीको केन्द्रीय नेतृत्वमा युवाको प्रतिनिधित्व बढाउने लक्ष्य राखेकी बताएकी छन्।

उनले देशभर रहेको आफ्नो नेट्वर्कका कारण कांग्रेसको चुनावी प्रतिस्पर्धामा बलियोसँग प्रस्तुत हुने बताएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा सुरू हुँदैछ। महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने तयारी भएको छ।