५० हजार युवालाई अघि सार्दै कांग्रेसले भन्यो, ‘यो महाधिवेशनबाट नयाँ इतिहास बनाउँछौं’

५० हजार युवालाई अघि सार्दै कांग्रेसले भन्यो, ‘यो महाधिवेशनबाट नयाँ इतिहास बनाउँछौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार दिउँसो काठमाण्डुको खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशनको सबै तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ।

शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले २०८२ पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि हुन लागेको १५औँ महाधिवेशनलाई ऐतिहासिक भनेका छन् ।

उनका अनुसार महाधिवेशन त्यही टुँडिखेलमा हुँदैछ, जहाँ बीपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेका थिए। त्यस्तै, २०४६ सालको जनआन्दोलन सफल भएपछि गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्य भएको घोषणा पनि यही स्थानबाट गरेका थिए।

महाधिवेशनको प्रक्रियाबाट करिब ५० हजार युवा विभिन्न जिम्मेवारीमा आएका चालिसेले बताएका छन्। उनीहरूसहित सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।

३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेशागत समूह र विदेशमा रहेका नेपालीलाई समेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिइने कांग्रेसले जनाएको छ।

कांग्रेसले १५औँ महाधिवेशनको मूल मन्त्र ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ तय गरेको छ। महाधिवेशनका छलफल सत्रमा नयाँ संकल्पका विषयमा विस्तृत छलफल गरी कार्यान्वयनको खाका तयार गरिने प्रवक्ता चालिसेले बताए।

महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नरहने बताउँदै चालिसेले लोकतन्त्रलाई नयाँ पुस्तासँग जोड्ने, सुशासनलाई राज्यको संस्कार बनाउने र युवालाई भविष्यप्रति आशावादी बनाउने राष्ट्रिय संकल्पसहित महाधिवेशन अघि बढाइने उल्लेख गरेका छन्।

कांग्रेसले बीपी कोइरालाको विचारलाई देशको समृद्धिको वैचारिक आधार बनाउने पनि जनाएको छ। ‘नेपाली कांग्रेसले अब बीपी कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्नेछ,’ चालिसेले भने।

प्रतिनिधि दर्ता थालियो

देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ। शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधि दर्ता प्रक्रिया सुरू भएको छ।

महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्नेछ। आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर प्रतिनिधिहरूको आवास व्यवस्थापन तथा समन्वय गरिरहेको छ।

प्रतिनिधिहरूलाई आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

तीन हलमा प्रतिवेदनमाथि छलफल

महाधिवेशनको उद्घाटनपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुने भएको छ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिहरूलाई समूह बनाएर तीनवटा हलमा छलफल गराइनेछ। प्रत्येक हलमा डिजिटल बोर्डको व्यवस्था गरिने र त्यसबाट सहभागीले प्रस्तुत प्रतिवेदन हेर्न तथा सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।

यसैबीच निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ। उम्मेदवारी मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ। निर्वाचन कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ।

पार्किङलाई छुट्टै क्षेत्र

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले प्रयोग गर्ने निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।

ठूला बसका लागि माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।

कांग्रेसले महाधिवेशनसम्बन्धी सूचना नियमित रूपमा सार्वजनिक गर्न हरेक दिन मिडिया सेन्टरबाट मिडिया ब्रिफिङ गर्ने जनाएको छ।