काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवम् पूर्वप्रवक्ता मनिष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वयम् संवाद र छलफलका लागि खुला रहेको बताएका छन्। तर उनको सचिवालयमा राजनीतिक पृष्ठभूमिबाहिरका केही सल्लाहकारको प्रभावले सरकारको कार्यशैलीमा समस्या देखिएको बताएका छन् ।
पत्रकार सुधीर शर्मासँगको ‘अनि अब’ पोडकास्ट अन्तर्वार्तामा झाले प्रधानमन्त्रीको नियत र इमानदारीमाथि प्रश्न नरहेको स्पष्ट गर्दै सरकारका कतिपय काममा योजना, प्रस्तुति र कार्यशैलीमा भने सुधार गर्नुपर्ने औंल्याए ।
‘इन्टिग्रिटी र इन्टेन्सनमा क्वेस्चन छैन,’ झाले भने, ‘मन्त्री, प्रधानमन्त्री वा उहाँका सल्लाहकारहरूसँग भेटिरहेको हुन्छु । कतै पनि गलत इन्टेन्सनको कुरा हुँदैन ।’
तर, प्रधानमन्त्री कार्यालयका निश्चित सल्लाहकारको राजनीतिक पृष्ठभूमि नभएका कारण कतिपय विषयमा आवश्यक राजनीतिक संवेदनशीलता र रणनीतिक तयारी नपुगेको उनको निस्कर्ष छ ।
नेता झाले मालबाहक टिपरको चालक सिटमा बसेपछि घमण्ड चढ्ने भन्दै प्रधानमन्त्रीको टिमका सदस्यहरुले अहमता देखाउने गरेको आरोप लगाए ।
‘प्रधानमन्त्री कार्यालयमा पुग्नु र त्यहाँ बस्नु नै ठूलो कुरा हो भन्ने त्यहाँको मान्छेले सोच्ने होइन,’ झाले भने, ‘टिपरको सिट नै यस्तो डिजाइन गरिएको रहेछ कि त्यहाँ बसेपछि ड्राइभिङ अहमता, आक्रमकता बढाउँदो रहेछ ।’
प्रधानमन्त्री शाह स्वयम् भने पार्टीका सांसद तथा नेताहरूसँग छलफल गर्न खुला रहेको दाबी झाले गरे । आफूलाई भेट्न नआउन वा आफू व्यस्त भएको भन्दै प्रधानमन्त्रीले कहिल्यै रोकावट नगरेको उनको भनाइ छ ।
‘उहाँ वेलकमिङ नै हुनुहुन्छ, आउ डिस्कस गर भनेर’, उनले भने, ‘मलाई भेट्न नआउ, म डिस्टर्ब भएँ भनेर कहिले पनि भन्नुभएको छैन ।’
प्रधानमन्त्रीले सांसदहरूसँग लामो समय छलफल गरी रणनीतिक योजनासमेत बनाउने गरेको झाले बताए । इन्जिनियर सांसदहरूसँग प्रधानमन्त्रीले छुट्टै छलफल गरेको प्रसंग उल्लेख गर्दै उनले संवादको ढोका प्रधानमन्त्री आफैंले बन्द नगरेको बताए ।
बालेन ५ वर्ष नै प्रधानमन्त्री रहने
प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच सम्बन्धमा समस्या आएको वा सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका बेला झाले वर्तमान सरकारको नेतृत्व पाँच वर्ष नै रहन दिने प्रतिबद्धता रहेको बताए ।
निर्वाचनअघि विभिन्न राजनीतिक समूह र व्यक्तिहरूलाई एक ठाउँमा ल्याउने क्रममा रास्वपा सभापति लामिछानेले पद, मन्त्रालय वा सरकारको अवधि सम्बन्धमा पूर्वसर्त नराखी राजनीतिक उदारता देखाएको दाबी गरे । ‘त्यहाँ पदको, मन्त्रालयको ड्युरेसनको कुरा नै भएन,’ झाले भने ।
उनले लामिछानेले आफू पाँच वर्षको प्रतिबद्धतामा कायम रहेको बताउँदै आएको पनि उल्लेख गरे ।
‘रवि दाइले मेरो ल्याप्चे चाहिन्छ भने ल्याप्चे लगाएर सिंहदरबार अगाडिको गेटमा होडिङबोर्ड झुण्ड्याइदिए हुन्छ कि मैले पाँच वर्षको प्रतिबद्धता दिएको छु भन्नुभएको छ’, झाले भने ।
सरकारको सफलता रास्वपाको राजनीतिक सफलतासँग जोडिएको उनको भनाइ छ । ‘बालेनजीको नेतृत्वको सरकारको सफलताको कुरा झन् प्रमुख जिम्मेवारी हो,’ उनले भने, ‘यो सरकार असफल भयो भने त मेरो राजनीतिक पृष्ठभूमि पनि असफल हुन्छ ।’
बालेन–रवि–कुलमान फेरि मिल्न सक्छन्
पूर्वमन्त्री कुलमान घिसिङसहित विभिन्न राजनीतिक समूहलाई समेटेर बनेको राजनीतिक सहकार्य भविष्यमा फेरि विस्तार हुन सक्ने संकेत पनि झाले गरे ।
घिसिङ केही समय सहयात्री भए पनि अहिले अलग प्रयासमा रहेको उल्लेख गर्दै उनले राजनीतिमा सहकार्यका सम्भावना कहिल्यै पूर्ण रूपमा बन्द नहुने बताए ।
‘उहाँ देशले मन पराएको पात्र हुनुहुन्छ । व्यवस्थापकीय कुशलता धेरै छ, प्रमाणित पनि भएको छ,’ झाले भने, ‘राजनीतिमा झ्यालढोका कहिल्यै बन्द हुँदैन।’
बालेन नेतृत्वको सरकारको समीक्षा भने पार्टीभित्र निरन्तर भइरहेको उनको भनाइ छ ।
बाहिरबाट सरकारको काम सन्तोषजनक देखिए पनि पार्टी र सरकारभित्र भने अपेक्षाअनुसार काम गर्न नसकिने हो कि भन्ने चिन्ता रहेको झाले बताए । ‘२० पनि छैन, १०० पनि छैन, पास त भइराखेको छ अहिले,’ उनले सरकारको कामको मूल्यांकनबारे भने ।
उनले सरकारका मन्त्रीहरूलाई आफूले ‘म भएको भए यसो गर्थें’ भनेर आलोचना गर्नेभन्दा आवश्यक काममा सहयोग गर्ने गरेको बताए । तर, गलत काम भए त्यसको विरोध गर्ने र नसच्याए सदनमा उठाउने चेतावनीसमेत दिने गरेको उनको भनाइ छ ।
सरकारले छोटो समयमै ठूलो परिणाम दिनुपर्ने दबाब रहेको उल्लेख गर्दै झाले आफूहरूभित्र आन्दोलनबाट सरकार बढार्न ‘पहिला ३५ वर्ष लाग्यो, अब ३५ महिना मात्र लाग्ला’ भन्ने यथार्थबोध रहेको बताए ।
सरकारप्रति जनताको भरोसा र देशप्रतिको आत्मविश्वास बढाउनु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ । ‘आशा जागेको छ, तर जति गर्नुपर्ने छ त्यो भइसकेको छैन,’ झाले भने ।




प्रतिक्रिया