युक्रेनी राजधानी किभको मुख्य रणनीतिक पुलमा रुसको आक्रमण

युक्रेनी राजधानी किभको मुख्य रणनीतिक पुलमा रुसको आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किभ- रसियाले युक्रेनको राजधानी किभस्थित एउटा रणनीतिक पुलमा आक्रमण गरेको छ। रूसी रक्षा मन्त्रालयका अनुसार ८०० मिटर लामो उक्त पुल युक्रेनी सेना र सैन्य सामग्री ओसारपसारमा प्रयोग हुँदै आएको दाबी गरेको छ।

युक्रेनी सेनाको सैन्य सामग्रीमा ढुवानीलाई अवरोध गर्ने उद्देश्यले रुसी सेनाले डिनिप्रो नदीमाथिको किभको उत्तरी पुलमा आक्रमण गरेको हो ।

शनिबार जारी विज्ञप्तिमा मन्त्रालयले रातभर गरिएको ड्रोन आक्रमणमा युक्रेनी राजधानीको ८०० मिटर लामो सडक पुललाई निशाना बनाइएको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार उक्त पुल सेना ओसारपसार र सैन्य सामग्री ढुवानीका लागि प्रयोग हुँदै आएको थियो।

अधिकारीहरूले किभ क्षेत्रको होस्तोमेलस्थित रसद केन्द्रमा पनि ड्रोन प्रहार भएको बताएका छन्। त्यहाँ सैन्य सामग्री भण्डारण गरिएको मन्त्रालयको भनाइ छ।

ओडेसातर्फ जाँदै गरेको दोहोरो प्रयोजनका उपकरण बोकेको एउटा मालवाहक जहाजलाई उत्तरपश्चिमी कालो सागरमा निशाना बनाइएको पनि विज्ञप्तिमा उल्लेख छ।

किभका मेयर भिटाली क्लित्स्कोले उत्तरी पुलमा आक्रमण भएको पुष्टि गरेका छन्। उनका अनुसार पुलको सडक सतह र ट्रलीबसको विद्युतीय सम्पर्क सञ्जालमा क्षति पुगेपछि आवागमन रोकिएको थियो। युक्रेनी सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडियोमा राजधानीका एक क्षेत्रमा ठूलो ट्राफिक जाम देखिन्छ।

किभका पूर्वी र पश्चिमी भाग जोड्ने आठवटा प्रमुख सडक तथा रेल पुल छन्। यसै साता रुसले दक्षिणी पुल ‘पिभ्देन्नी’लाई पनि निशाना बनाएको थियो। रुसी पक्षले उक्त पुल डोनबासमा रहेका युक्रेनी सैन्य एकाइका लागि सेना र सैन्य सामग्री ओसार्न प्रयोग भइरहेको बताएको थियो।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै स्ट्राना डट युएले पुलले युक्रेनका पूर्वी र पश्चिमी क्षेत्रबीच हुने सडक पारवहनको ९० प्रतिशतसम्म धान्ने र सैन्य सामग्रीको ठूलो हिस्सा पनि ओसार्ने जनाएको छ।

आक्रमणपछि युक्रेनी सांसद भ्लादिमिर क्रेइडेन्कोले पुलहरूमा ठूलो क्षति भई यातायात लामो समय अवरुद्ध भएमा फेरी र अस्थायी पोन्टुन पुल प्रयोग गर्ने विषयमा सांसदहरूले छलफल गरिरहेको बताए।

हालैका सातामा रुसले सैन्य रसद र रक्षा उद्योगसँग सम्बन्धित संरचनामाथिका आक्रमण तीव्र बनाएको छ। रुसी पक्षले यसलाई युक्रेनी नेता भ्लादिमिर जेलेन्स्कीको ४० दिने ‘दबाब अभियान’को जवाफ भनेको छ। उक्त अभियानअन्तर्गत रुसभित्रका तेल प्रशोधन केन्द्र र नागरिक पूर्वाधारमा लामो दूरीका आक्रमण गरिएको रुसको दाबी छ।