काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाण्डुको खुला मञ्चमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुन लागेको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्नेछ।
महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुनेछ। उद्घाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने छन् ।
महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने छ। पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने, संगठनलाई थप प्रभावकारी बनाउने र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको भूमिका निर्धारण गर्ने उद्देश्यसहित महाधिवेशन आयोजना हुन लागेको पार्टीले जनाएको छ ।
यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो। तर, देशका विभिन्न स्थानमा परेको भारी वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न असहज परिस्थितिका कारण महाधिवेशनको मिति दुई दिन सारिएको हो।
आइतबार उद्घाटन समारोह हुनेछ भने सोमबार र मंगलबार बन्दसत्र सञ्चालन गरिनेछ। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचनका कार्यक्रम सञ्चालन हुनेछन्।
निर्वाचन समितिले असोज १९ गते अपराह्न २ बजेदेखि ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ ।
पार्टीका विभिन्न तहबाट चयन भएका प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्रीय सभापति, स्थानीय तहका सभापति तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।
महाधिवेशनलाई खर्चिलो र भड्किलो नबनाउने कांग्रेसको तयारी छ। देशमा विपत्ति र असहज परिस्थिति रहेकाले विगतका महाधिवेशनमा जस्तो तामझाम नगरी मितव्ययी रूपमा कार्यक्रम सम्पन्न गर्ने पार्टीको योजना छ।
प्रचारप्रसारमा डिजिटल माध्यमलाई प्राथमिकता दिँदै अनावश्यक पर्चा, पोस्टर र छपाइमा खर्च नगर्न पनि आग्रह गरिएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले भने आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
महाधिवेशनमा पार्टीको भावी राजनीतिक कार्यदिशा, सांगठनिक संरचना, नेतृत्वको जिम्मेवारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। नयाँ नेतृत्व चयनसँगै पार्टीलाई जनतामाझ थप विश्वसनीय बनाउने, संगठन विस्तार गर्ने र राजनीतिक प्रतिस्पर्धामा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि निर्णय हुने गरिनेछ ।




प्रतिक्रिया