विश्वका ३ महाशक्ति एउटै टेबलमा : सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक शिखर वार्तामा के के भयो ?

विश्वका ३ महाशक्ति एउटै टेबलमा : सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक शिखर वार्तामा के के भयो ?

विश्व शान्तिका लागि परमाणु जोखिम घटाउनेबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सेन्जेन – चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय शिखर बैठक भएको छ ।

चीनको विदेश मन्त्रालयका अनुसार तीन देशका राष्ट्रप्रमुखबीच पहिलोपटक भएको यस ऐतिहासिक बैठकको मुख्य विषय ‘विश्व शान्तिको संरक्षण र प्रमुख शक्तिबीचको सम्बन्धमा रणनीतिक स्थिरताको प्रवर्द्धन’ थियो ।

बैठकमा विश्व शान्ति, परमाणु हतियारको जोखिम, रुस–युक्रेन युद्ध, मध्यपूर्वको अवस्था, कोरियाली प्रायद्वीप, अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र कृत्रिम बुद्धिमत्ताको शासन व्यवस्थालगायत विषयमा छलफल भएको छ ।

बैठकको अध्यक्षता गरेका सीले चीन, रुस र अमेरिकाका शीर्ष नेताहरूबीचको यो पहिलो बैठकलाई ऐतिहासिक र नयाँ सुरुवातका रूपमा व्याख्या गरे । विश्वका प्रमुख शक्तिबीचको शान्तिपूर्ण सम्बन्धले विश्वमा स्थिरता ल्याउने भन्दै उनले प्रतिस्पर्धा र टकरावले विश्वलाई अराजकतातर्फ धकेल्ने बताए ।

सीले विश्वमा अहिले पनि ६० भन्दा बढी द्वन्द्व जारी रहेको र मानव इतिहासमा १० हजारभन्दा बढी युद्ध भइसकेको उल्लेख गर्दै ठूला शक्तिहरूले विश्व शान्ति र स्थिरताका लागि विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

उनले दोस्रो विश्वयुद्धमा चीन, रुस र अमेरिका फासिवादविरुद्ध एकसाथ लडेको ऐतिहासिक प्रसंग स्मरण गर्दै त्यतिबेला प्राप्त विजय र शान्तिको उपलब्धिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सीले ठूला शक्तिबीच सहकार्यका लागि ४ प्रस्ताव अघि सारे

सीले ३ देशबीचको सम्बन्धलाई सही दिशामा अघि बढाउन ४ वटा आधारभूत प्रस्ताव अघि सारे । उनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, साझा हितमा आधारित सहकार्य तथा संवाद र परामर्शलाई प्राथमिकता दिनुपर्ने बताए ।

पहिलो, ३ देशले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक व्यवस्था र विकासको आफ्नै बाटो रोज्ने अधिकारको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।  एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र संवेदनशील विषयमा निर्णय गर्नुअघि संवाद गर्न उनले आग्रह गरे ।

दोस्रो, चीन, रुस र अमेरिकाले द्वन्द्व तथा टकरावको बाटो छाडेर शान्तिपूर्ण सहअस्तित्वलाई प्राथमिकता दिनुपर्ने सीले बताए । उनले ‘थुसिडाइड्स र्ट्याप’ अर्थात् उदाउँदो शक्तिको उदय र स्थापित शक्तिको प्रतिस्पर्धाले अनिवार्य रूपमा युद्ध निम्त्याउँछ भन्ने मान्यता नियति नभएको उल्लेख गरे ।

दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्नुपर्ने बताउँदै उनले परमाणु युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै लड्नु नहुने धारणा राखे ।

तेस्रो, ३ देशबीच आर्थिक तथा व्यापारिक सहकार्य विस्तार गर्नुपर्ने सीको प्रस्ताव थियो । औद्योगिक तथा आपूर्ति शृंखला अवरुद्ध पार्ने र आर्थिक सम्बन्धविच्छेद गर्ने नीति उचित नभएको उनको भनाइ थियो । विश्व ऊर्जा सुरक्षामा देखिएका चुनौती सामना गर्न ३ देशले ऊर्जा उत्पादन, आपूर्ति र बजारको स्थिरताका लागि सहकार्य गर्नुपर्ने उनले बताए ।

चौथो, उच्चस्तरीय नियमित भेटघाट र सबै तहमा संवादको ढोका खुला राख्नुपर्ने सीले बताए । सम्भावित संकट रोक्न र गलत बुझाइका कारण विवाद बढ्न नदिन ३ देशबीच संकट सञ्चार तथा रोकथाम संयन्त्र विकास गर्नुपर्ने उनको प्रस्ताव थियो ।

उनले विश्वका विभिन्न द्वन्द्वमा संलग्न पक्षलाई वार्ताको टेबलमा ल्याउन चीन, रुस र अमेरिकाले भूमिका खेल्नुपर्ने पनि बताए ।

पुटिन : विश्व शान्तिका लागि ३ देशको साझा जिम्मेवारी

रुसी राष्ट्रपति पुटिनले ऐतिहासिक त्रिपक्षीय शिखर बैठक आयोजना गरेकोमा चीनप्रति आभार व्यक्त गरे । चीन, रुस र अमेरिका संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य तथा प्रमुख शक्ति भएकाले विश्व शान्ति र स्थिरता कायम गर्ने साझा जिम्मेवारी रहेको उनले बताए ।

दोस्रो विश्वयुद्धको विजयले तीन देशलाई ऐतिहासिक रूपमा जोडेको उल्लेख गर्दै पुटिनले संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र अन्तर्राष्ट्रिय शान्तिको संरक्षण गर्नुपर्ने बताए ।

उनले सार्वभौमिक समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै ३ देशबीचका मतभेदलाई सन्तुलित ढंगले समाधान गर्नुपर्नेमा जोड दिए ।

चीन र अमेरिकासँग पारस्परिक सम्मान, समान संवाद र शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गर्न रुस तयार रहेको उनको भनाइ थियो । खुला अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा तथा खाद्य सुरक्षा र कृत्रिम बुद्धिमत्ताको शासन व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नुपर्ने प्रस्ताव पनि उनले राखे ।

ट्रम्प : परमाणु जोखिम रोक्न ३ देशले मिलेर काम गर्नुपर्छ

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन, रुस र अमेरिकाबीचको शिखर बैठकले विश्वको ध्यान आकर्षित गरेको बताए । तीनै देश परमाणु हतियार सम्पन्न राष्ट्र भएकाले विश्व शान्ति र स्थिरताको संरक्षणमा विशेष जिम्मेवारी रहेको उनको भनाइ थियो ।

परमाणु हतियारको प्रसार रोक्न र त्यसबाट मानवतामाथि पर्न सक्ने विनाशकारी जोखिम न्यूनीकरण गर्न ३ देशले मिलेर काम गर्नुपर्ने उनले बताए ।

विश्वमा स्थिरता कायम गर्न र शान्ति स्थापना गर्न संवाद आवश्यक रहेको उल्लेख गर्दै ट्रम्पले सबै समस्याको समाधान वार्ताबाट खोज्नुपर्ने धारणा राखे । सी र पुटिनसँग मिलेर पृथ्वीलाई सुरक्षित बनाउने र भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्ने अपेक्षा पनि उनले व्यक्त गरे ।

बैठकमा तीनै नेताले रुस–युक्रेन संकट, परमाणु हतियारको प्रसार रोकथाम, मध्यपूर्वको अवस्था र कोरियाली प्रायद्वीपको विषयमा समेत विचार आदानप्रदान गरेका थिए ।

४ बुँदे संयुक्त घोषणा जारी

शिखर बैठकपछि ३ देशका राष्ट्रप्रमुखले ‘चीन–रुस–अमेरिका राष्ट्रप्रमुखको शान्तितर्फको घोषणा’ नामक संयुक्त दस्तावेज जारी गरेका छन् ।

घोषणामा मुख्यत: ४ विषय समेटिएका छन् ।

१. संयुक्त राष्ट्रसंघ सुधार : तीनै देशले विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको मूल उद्देश्य पूरा गर्न संयुक्त राष्ट्रसंघ सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

२. ऊर्जा आपूर्ति : ३ देशले विश्वका सबै मुलुकको हितका लागि प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने योजना बनाएका छन् । ऊर्जा प्रवाह स्थिर राख्नुपर्नेमा पनि जोड दिएका छन् ।

३. अन्तर्राष्ट्रिय फौजदारी अदालत : राष्ट्रहरूको सहमति र सरकारी अधिकारीहरूको उन्मुक्तिको सम्मानलाई महत्त्वपूर्ण मान्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका निकायले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने उल्लेख गरेका छन् ।

४. परमाणु जोखिम न्यूनीकरण : परमाणु युद्ध जित्न नसकिने र कहिल्यै लड्न नहुने पुन: स्पष्ट गर्दै परमाणु जोखिम घटाउन र परमाणु हतियारको प्रसार रोक्न ३ देशबीच संवाद गर्ने प्रतिबद्धता जनाइएको छ ।   

सीको निष्कर्ष : संवाद र सहकार्य नै शान्तिको बाटो

बैठकको समापनमा सीले छलफल सकारात्मक, रचनात्मक र उपलब्धिमूलक रहेको बताए । विश्व शान्तिको संरक्षण गर्नुपर्ने विषयमा तीनै देशको समान धारणा रहेको उनको भनाइ थियो ।

उनले दोस्रो विश्वयुद्धमा ३ देशले काँधमा काँध मिलाएर लडेको इतिहास स्मरण गर्दै कठिन संघर्षबाट प्राप्त शान्तिलाई संरक्षण गर्नुपर्ने बताए ।

ठूला शक्तिहरूले सबै देशका वैध सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिनुपर्ने र विवाद समाधानका लागि संवाद तथा वार्तालाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरे ।

सीका अनुसार सहकार्य नै विश्वका साझा चुनौती समाधान गर्ने सही बाटो हो । साझा हितका आधारमा सहकार्य विस्तार गरेर शान्ति र साझा समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

‘आजको शिखर बैठकमा ३ राष्ट्रपतिबीच रोपिएका बीउले अवश्य जरा हाल्ने, उम्रने, फुल्ने र फल दिनेछन्,’ सीले भने ।

उनले ३ देशले बैठकमा बनेको साझा समझदारी कार्यान्वयन गर्दै निरन्तर संवाद, सहमति निर्माण र जिम्मेवारीपूर्ण सहकार्यलाई अघि बढाउनुपर्ने बताए ।

विश्व राजनीतिमा नयाँ कूटनीतिक अभ्यास

चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुख एउटै मञ्चमा बसेर औपचारिक त्रिपक्षीय शिखर बैठक गर्नु अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण घटना हो । तीनै देश संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य र परमाणु हतियार सम्पन्न शक्ति हुन् ।

यद्यपि बैठकले विश्वका सबै द्वन्द्व समाधान गर्ने कुनै ठोस सहमति गरेको छैन । विशेषगरी रुस–युक्रेन युद्धबारे छलफल भए पनि त्यसको समाधानका लागि संयुक्त घोषणामा कुनै निश्चित कार्ययोजना समावेश गरिएको छैन । परमाणु जोखिम घटाउने विषयमा पनि तत्काल हतियार कटौतीको सम्झौता नभई थप संवाद गर्ने प्रतिबद्धता मात्र व्यक्त गरिएको छ ।

यस अर्थमा सेन्जेन शिखर बैठकलाई तीन प्रमुख शक्तिबीच संवादको नयाँ ढोका खोल्ने प्रयासका रूपमा हेरिएको छ । विश्व राजनीतिमा बढ्दो प्रतिस्पर्धा र तनावका बीच उनीहरूबीच सहकार्यको सम्भावना खोज्नुलाई धेरैले सकारात्मक भनेका छन् ।