अन्तिम ओभरमा रोमाञ्चक जीत निकाल्दै सुदूरपश्चिम फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

अन्तिम ओभरमा रोमाञ्चक जीत निकाल्दै सुदूरपश्चिम फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा सुदूरपश्चिमले चितवनले दिएको १३४ रनको लक्ष्य १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमले १ बल बाँकी छँदै ३ विकेटको जित निकालेको हो ।

अन्तिम ओभरसम्म पुगेको खेलमा सुदूरपश्चिमलाई जितका लागि अन्तिम ६ बलमा ९ रन आवश्यक थियो । दबाबपूर्ण अवस्थामा पनि टोलीले लक्ष्य पूरा गर्दै उपाधि भिडन्त पक्का गर्‍यो ।

यससँगै सुदूरपश्चिमले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग भेट पक्का गरेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी यसअघि नै फाइनल पुगिसकेको थियो ।

थरिन्दु रत्नायकेको अर्धशतक निर्णायक

सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायकेले अविजित अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ५३ रन बनाए । कठिन अवस्थामा ब्याटिङ सम्हालेका उनले टोलीलाई जितसम्म पुर्‍याए ।

सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रममा नियमित विकेट गुमाएको थियो । तर रत्नायकेले धैर्यपूर्वक ब्याटिङ गर्दै टोलीको जीत सुनिश्चित गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए । सलाउद्दिन खानले १८ तथा कमलसिंह ऐरीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका स्कट कुग्लाइनले ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट हात पारे ।

पहिलो क्वालिफायरमा लुम्बिनीले हराएको थियो सुदूरपश्चिमलाई

यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफमा लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

लुम्बिनीको जीतमा निरोशन डिक्वेलाले अविजित ५९ रनको योगदान दिएका थिए । उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले सुदूरपश्चिमका लागि ५२ रन बनाएका थिए ।  

अब शनिबार हुने फाइनलमा लुम्बिनी र सुदूरपश्चिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।