गगनलाई चुनौती दिँदै किशोरसिंह भन्छन्-मलाई सभापति छाडिदिँदा न्याय हुन्छ

गगनलाई चुनौती दिँदै किशोरसिंह भन्छन्-मलाई सभापति छाडिदिँदा न्याय हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापालाई चुनौती दिँदै पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने आफ्नो अडान दोहोर्‍याएका छन्।

राठौरले गगन थापा त्रिचन्द्र क्याम्पसमा आफू स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदा सदस्य रहेको स्मरण गर्दै यसपटक गगनले नैतिक रूपमा आफूलाई सभापति पद छाडिदिँदा न्याय हुने तर्क गरेका छन्।

‘त्रिचन्द्र क्याम्पस पढ्दा म स्ववियु सभापति थिएँ। त्यसबेला गगन मेरो सदस्य थियो। उसले नैतिक रूपमा पनि मलाई सभापति पद छोडिदिँदा न्याय हुन्छ,’ राठौरले भने।

उनले आफू पूर्वसभापति शेरबहादुर देउवाले सभापतिमा उठ्न पठाएको भन्ने प्रचार गलत भएको दाबी गरे। आफू कुनै समूहको निर्देशनमा नभई आफ्नै नैतिक अडानका आधारमा सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

‘मलाई पूर्वसभापति शेरबहादुर देउवाले सभापतिमा लड्न पठाएको भन्ने कुप्रचार गरिँदैछ। यो गलत छ। म नैतिक रूपले नै सभापतिमा लड्न लागेको हुँ। म सभापतिको अडानबाट पछि हट्दिनँ, निर्वाचन लडेरै छाड्छु,’ राठौरले भने।

उनले गगन थापाको नेतृत्वमा कांग्रेस तीन चिरामा विभाजित भएको आरोपसमेत लगाए। ‘गगनकै कारण पार्टी तीनचिरा पुगेको छ, अब उसलाई किन जिताउने’, उनले प्रश्न गरे।

राठौरले अहिले सभापतिका लागि छलफल अघि बढाएका छन्। यसअघि पनि उनले १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरिसकेका छन्।

गत पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा १५औँ महाधिवेशनबाट पनि दोहोरिने तयारीमा छन्। थापाले यसअघि नै आफू सभापतिको उम्मेदवार हुने सार्वजनिक रूपमा बताइसकेका छन्।

हालसम्म सभापति पदमा थापा र राठौरबीच प्रतिस्पर्धाको चर्चा प्रमुख रूपमा देखिएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री तहबाट भने थापालाई चुनौती दिने उम्मेदवारी स्पष्ट रूपमा अगाडि आइसकेको छैन।

राठौर २०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। उनी विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका नेता हुन्। त्रिचन्द्र क्याम्पसको स्ववियु सचिव तथा सभापति हुँदै उनले नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।

१५औँ महाधिवेशन उद्घाटन हुन लाग्दा कांग्रेसमा नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ। थापालाई सर्वसम्मत सभापति बनाउने प्रयास भइरहेका बेला राठौरले उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारेका छन्।