काठमाण्डु- नेपाली कांग्रेस संस्थापन पक्षको १५ औँ महाधिवेशन आइतबारदेखि सुरू भएको छ । यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा सांगठनिक दिशा पनि तय गर्नेछ ।
सभापति गगन थापा नेतृत्वको कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु गरेको हो । थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुन, जसले सभापति रहेका शेरबहादुर देउवालाई विस्थापित गरेको थियो ।
अर्कातर्फ देउवा पक्षले पनि मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने तयारी सुरू गरिसकेको छ । पार्टीका दुइवटा पक्षले अलग अलग महाधिवेशन गर्ने भएपछि पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टीकै नेताहरूले प्राविधिक र मनौवैज्ञानिक रूपमा पार्टी विभाजित भइसकेको बताउँछन् ।
नेपाली कांग्रेसमा पछिल्लो विभाजनको विजारोपण विशेष महाधिवेशनबाट नै सुरु भएको थियो । विशेष महाधिवेशनले देउवालाई विस्थापित गरेर थापालाई सभापतिमा निर्वाचित गरेको थियो । थापाले एक पक्षीय रूपमा महाधिवेशन गरेको भन्दै देउवा पक्ष असन्तुष्ट बन्दै आएको थियो ।
गत वर्ष भदौ २४ गते जेन जी आन्दोलनमा आन्दोलनकारीको कुटाइबाट घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए । उनी साउन २८ गते स्वदेश फर्किएर राजनीतिमा फेरि सक्रिय भए र आफ्नो पक्षको गतिविधि काठमाण्डुको चुनदेवीबाट बढाए र अन्ततः महाधिवेशन गर्ने निर्णयमा पुगे ।
महाधिवेशनमा थापाले करिब साढे ७ हजार प्रतिनिधिलाई टुँडिखेलमा भेला गराउने तयारी गरिरहँदा पार्टीबाट बाहिरिएका देउवा भने पुरानै अडानमा अडिग छन्, अहिले उनी समानान्तर गतिविधि गरिरहेका छन्
नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी दुईवटा समानान्तर संस्थाजस्तो बनेर वडा अधिवेशनमा हुँदै महाधिवेशनको प्रतिस्पर्धामा छन् ।
जेन-जी आन्दोलन अघि पार्टी नेतृत्व हस्तान्तरण गर्ने वाचा गरेका देउवाले अहिले समानान्तर गतिविधिमार्फत् पार्टी जोगाउनुको सट्टा विभाजनको रूपरेखा कोरेको विश्लेषकहरूको भनाइ छ ।
गत फागुनमा भएको आम निर्वाचनअघि महाधिवेशन बोलाउन तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको आाग्रह देउवाले अस्वीकार गरेका थिए ।
पार्टीको निर्वाचित प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढीलाई संगठित गर्दै समयअगावै नेतृत्व हस्तान्तरणका लागि विशेष महाधिवेशन बोलाउने पहल गरेपछि देउवाले त्यसको प्रतिशोधात्मक जवाफ दिए । उनले थापा र शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरे र पार्टीको आधिकारिक फेसबुक पेजबाट उनीहरूका तस्बिरसमेत हटाए ।
निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले थापा नेतृत्वको पक्षलाई कानुनी वैधता प्रदान गरिसकेको अवस्थामा पनि देउवा आफ्नो अडानमा कायमै छन् ।
चुनदेवीबाट उनले छुट्टै वडा अधिवेशनहरू अघि बढाएका छन । थापा पक्षले महाधिवेनका लागि तोकेको उम्मेदवार शुल्क ४० हजार रुपैयाँको तुलनामा १० हजार रुपैयाँ घटाएर ३० हजार रुपैयाँमा महाधिवेशनको उम्मेदवारी शुल्क तोकेका छन् । यसलाई तल्लो तहका कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने प्रयासका रूपमा हेरिएको छ ।
८० वर्षीय देउवा आफ्नो राजनीतिक जीवनको स्वाभाविक उत्तरार्द्धमा पुगेका छन् । उनका राजनीतिक एजेन्डामा नयाँ विचार वा देशका लागि नयाँ दृष्टिकोण प्रस्तुत गर्ने विषय सीमित देखिन्छ ।
पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा सानो हुँदै गएको चुनदेवी समूहको नेतृत्वमै सीमित हुनु र उनीसँग लामो समयदेखि रहेका ३१ जना नेताहरू थापा पक्षमा लागिसकेको अवस्थामा देउवा झन कमजोर बनेका छन् ।
पार्टीका तल्लो तहमा पुस्तान्तरणको प्रक्रिया अघि बढिसकेको छ, जहाँ युवा कार्यकर्ताहरूले वडा तहको नेतृत्व सम्हाल्दै सदस्यता विस्तारलाई नयाँ गति दिइरहेका छन् । अदालतले निर्णय सुनाइसकेको छ, प्रतिनिधिहरूले आफ्नो धारणा व्यक्त गरिसकेका छन् र मतदाताले पनि निर्वाचनमार्फत निर्णय दिइसकेका छन् ।
अब देउवाले समानान्तर पार्टीको अभ्यास त्याग्दै पार्टीमाथिको आफ्नो पकड खुकुलो पार्नुपर्ने र आफ्ना समर्थकहरूलाई गगन थापाको नेतृत्वमा रहेको वैध पार्टी संरचनामा सहभागी हुन आग्रह गर्नुपर्ने विश्लेषकहरू बताउँछन् ।
देउवा र उनका बाँकी समर्थकहरूले यथार्थ स्वीकार गर्दै नेतृत्वबाट अलग हुने बाटो रोज्नुपर्ने देखिएको पनि उनीहरूको भनाइ छ । देउवा र उनी पक्षीय नेताहरूले कांग्रेस आधिकारिकताको मुद्दामा निस्सा पाएपछि मुद्दा विचाराधीन रहेको दाबी गर्छन् ।
‘विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरुपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्तविपरीतको कार्य हो ।
सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भले यस विषयमा गम्भीर संवैधानिक र कानुनी प्रश्न रहेको स्पष्ट पार्छ,’ भदौ ३० गते देउवाले अपिल जारी गर्दै भनेका थिए । यिनै आधारमा देउवाले विशेषे महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका थिए ।
अपजसबाट जोगिने रणनीति
देउवामाथि कांग्रेस विभाजनको अपजस पनि छ । २०५९ असार २ गते देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका थिए ।
२४ वर्षअघि कांग्रेस विभाजनको कारण तत्कालीन माओवादी र तत्कालीन राजा कारक थियो । त्यसबेला देउवाले प्रधानमन्त्री पदलाई प्राथमिकता दिएका थिए । तर अहिले कारक तत्व फरक भए पनि पदीय मोह उस्तै छ ।
त्यतिबेला देउवाले पद जोगाउन पार्टी फुटाए भने अहिले उनले गुट जोगाएर आफ्नो फाइदा लिन मात्रै ध्यान दिएका छन् । पार्टीलाई एकतावद्ध गर्नुको सट्टा स्वार्थलिप्समा परेको देउवामाथि पार्टी विभाजनको अर्को कलंक लाग्दैछ ।
मझदारमा पूर्ण र शेखर
कांग्रेसका नेताहरू पूर्णबहादुर खडका र शेखर कोइराला न गगन न त देउवा पक्षमै खुलेर लागेका छन् । थापा पक्षको महाधिवेशन जतिजति नजिकिँदै गयो उनीहरू देउवाबाट टाढिँदै गए ।
पार्टीका पूर्वउपसभापति खड्का चुनदेवी सम्पर्क कार्यालयको ताला आफ्नै हातले खोलेर उद्घाटन गरेका थिए । तर त्यसयता उनी पनि देउवासँग असन्तुष्ट रहँदै आएका छन् ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिता थापा पक्षलाई दिएपछि खड्काले पुनरावलोकनका लागि निवदेन दर्ता गराएका छन् । तर अदालतले यस विषयमा अहिले अन्तिम फैसला गरेको छैन ।
अदालतमा आफूले आधिकारिकतासम्बन्धी निवदेन दर्ता गराएपछि कुनैपनि पक्षमा लाग्नु नैतिक रूपमा साथ नदिने भन्दै खड्का देउवा पक्षबाट अलग्गिदै गएपनि कुनै पनि पक्षको महाधिवेशनलाई खुलेर समर्थन गरेका छैनन् ।
देउवाले आफ्नो पक्षको महाधिवेशन आयोजक समितिको संयोजक शशांक कोइरालालाई दिएपछि खड्का असन्तुष्ट बनेको बताइन्छ ।
कुनै बेला थापा नजिक रहेका शेखर कोइराला पनि अहिले तटस्थ छन् । उनी सुरूदेखि नै कुनै पक्षमा लागेका छैनन् ।
कोइराला परिवारका सदस्य शेखरको भूमिका पार्टी एकताका लागि ठोस पनि रहेन । उनी अदालतको फैसला जे आउँछ, त्यही स्वीकार गर्ने बताइरहेका छन् । तर शेखर पनि सहमतिका नाममा अल्मलिएका छन्।
‘दुवैथरि मिलेनन् त्यसैले म कतै जान्न’ भनेझैँ गरी शेखर बीचमा बस्नु कोइराला परिवारका नसुहाएको स्वयम् देउवा पक्षका नेताहरू बताउँछन् ।
विगगमा पार्टी फुटको अपजसबाट जोगिन देउवाले महाधिवेशन आयोजनाको जिम्मा डा. शशांक कोइरालालाई सुम्पेका छन् । ठूलै जिम्मा पाएपछि कोइराला पनि लहैलहैमा हौसिएको देखिन्छ ।
कोइराला परिवारका तीन सदस्य शेखर, शशांक र सुजाता छन् । सुजाता सक्रिय राजनीतिबाट करिब करिब अलग भइसकेकी छिन् । तर कांग्रेसका कार्यकर्ताहरूका माझमा तीनैजनाको लोकप्रियता पनि राम्रै छ। अहिले सक्रिय रहेका शेखर र शशांक दुबै महाधिवेशनमा कतै छैनन्।
तर देउवाले शशांकलाई अघि बढाएर पार्टी फुटको अपजसबाट बच्न खोजे पनि उनको राजनीतिक धरातल भने विलीन हुने सम्भावना छ।




प्रतिक्रिया