बेत्रावतीको बेलीब्रिज दसैँअघि नै सञ्चालनमा आउने

बेत्रावतीको बेलीब्रिज दसैँअघि नै सञ्चालनमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ ।

गत भदौमा गएको रसुवा बाढीले सो खोलाको पक्की पुल बगाएपछि अवरुद्ध भएको पासाङल्हामुमार्गस्थित सो खोलामा बेलीब्रिज निर्माण भएसँगै सडक यातायात सञ्चालनमा आउने भएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको हो ।

बेलीब्रिज जडानका क्रममा आवश्यक सामग्री बेत्रावतीस्थित निर्माणस्थल पन्छाइएको छ । बाढी प्रभावित जनतालाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन दसैँअघि नै बेलीब्रिज जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ नेपाली सेनाले जनाएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै फलाखुखोलामा रहेका पुरानो र नयाँ दुवै पक्की पुल बगाएसँगै काठमाण्डु–नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित भएको छ ।

सो स्थानमा पुल बगेपछि रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ ।