काठमाण्डु– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म कायम रहनेमा शंका व्यक्त गरेका छन् ।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै भट्टराईले सरकार पाँच वर्ष टिकिरहोस् भन्ने आफ्नो शुभेच्छा भए पनि नेपालको राजनीतिक प्रवृत्ति हेर्दा त्यसको सम्भावना कम रहेको बताए ।
‘यो सरकार पाँच वर्ष जाओस्, शुभकामना छ’, उनले भने, ‘तर, नेपालको प्रवृत्ति हेर्दा सम्भावना छैन ।’
सरकारलाई स्थायित्व दिन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनको धारणा थियो । अहिलेको निर्वाचन प्रणालीबाट कुनै पनि दलले बहुमत पाए पनि सरकारको कार्यकाल सुनिश्चित गर्न कठिन हुने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै भट्टराईले आगामी निर्वाचनमा कुनै दलले झन्डै दुईतिहाइ बहुमत ल्याए पनि यही निर्वाचन प्रणाली कायम रहे सरकार कति समय टिक्छ भन्न नसकिने बताए ।
‘रविजीहरूले झन्डै दुईतिहाइ ल्याउनुभयो । यही हाम्रो चुनावी प्रणाली रह्यो भने भन्न सकिँदैन,’ उनले भने, ‘हाम्रो जस्तो देशमा कुनै पनि सरकार तीन वर्षभन्दा बढी टिकेको छैन । अहिले उहाँहरूले टिकाउँछु भन्नुभएको छ । मेरो शुभकामना छ । तर, हाम्रो जुन प्रवृत्ति छ, अहिल्यै म भन्न सक्ने अवस्था छैन ।’
भट्टराईले राजनीतिक दलका नेताहरूलाई नेतृत्व हस्तान्तरणका लागि तयार हुनसमेत आग्रह गरे ।
नेपालजस्तो जातीय, क्षेत्रीय, भाषिक र सांस्कृतिक विविधता भएको मुलुकमा पहिचान र अधिकारका लागि विभिन्न राजनीतिक दल गठन हुनु स्वाभाविक भए पनि मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अघि बढाउन राजनीतिक स्थायित्व आवश्यक रहेको उनको भनाइ थियो ।
भारत र चीनबीच सन्तुलित सम्बन्ध कायम गर्दै राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा जोड दिँदै उनले तीव्र आर्थिक वृद्धि हासिल गर्न राजनीतिक स्थिरता आवश्यक रहेको बताए ।
भट्टराईले संविधानका आधारभूत संरचनामाथि कुनै प्रकारको छेडखानी नगर्न पनि आग्रह गरे ।
संविधान ठूलो राजनीतिक बलिदानबाट बनेको भन्दै उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संविधानका प्रमुख आधारका रूपमा व्याख्या गरे ।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता संविधानका पिलर हुन् । कुनै पनि पिलर हल्लिए व्यवस्था रहँदैन,’ उनले भने ।
गत वर्ष मुलुकको राजनीतिक व्यवस्था संकटमा परेको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताए ।
माओवादी आन्दोलनले बीपी कोइरालाले २००७ साल आसपासबाट सुरु गरेको राजनीतिक आन्दोलनलाई पूर्णतामा पुर्याउने काम गरेको उनको दाबी थियो ।
भट्टराईले संक्रमणकालीन न्यायको विषय २० वर्षसम्म पनि टुंगिन नसकेको भन्दै यसलाई राष्ट्रिय सहमतिका आधारमा निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
गत वर्षको जेनजी आन्दोलन, थारू र मधेस आन्दोलनका शहीदका सपना अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै उनले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम अघि बढाउन सबै दलबीच सहमति आवश्यक रहेको बताए ।




प्रतिक्रिया