युक्रेनमा भारतीय व्यवसायीको औषधि कारखानामा रुसी ड्रोन हमला, अर्बौँको क्षति, एकजनाको मृत्यु

युक्रेनमा भारतीय व्यवसायीको औषधि कारखानामा रुसी ड्रोन हमला, अर्बौँको क्षति, एकजनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रुसले युक्रेनको सूमी सहरस्थित भारतीय व्यवसायी राजीव गुप्ताको औषधि उत्पादन गर्ने कारखानामा ड्रोन हमला गरेको छ। उक्त हमलामा एक जनाको मृत्यु भएको छ भने अरू केही घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रुसी ड्रोन हमलाबाट कारखानाको मुख्य भवनमा ठूलो क्षति पुगेको छ। भवनको अधिकांश भाग ध्वस्त भएको छ। प्रारम्भिक अनुमानमा कम्पनीलाई करिब ४०० करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको छ।

हमलापछि कारखाना रहेको क्षेत्रबाट ठूलो धुवाँको मुस्लो देखिएको थियो। स्थानीय अधिकारीहरूले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन्। उक्त कारखाना रुसी सीमाबाट करिब २३ किलोमिटर टाढा रहेको बताइएको छ।

सन् ९० को दशकमा युक्रेन पुगेका थिए गुप्ता

उक्त कारखाना भारतीय मूलको कुसुम ग्रुपको हो। कम्पनीका सञ्चालक राजीव गुप्ता सन् १९९० को दशकमा युक्रेन पुगेका थिए। उनले त्यहीँबाट कुसुम ग्रुपको व्यवसाय विस्तार गरेका हुन्।

कम्पनीले सन् १९९४ मा भारतबाट औषधि युक्रेन निर्यात गर्ने वितरकका रूपमा काम सुरू गरेको थियो । सन् १९९६ मा युक्रेनमा औपचारिक रूपमा कम्पनी स्थापना गरिएको थियो। कुसुम ग्रुपको मुख्यालय राजधानी किभमा रहेको छ।

सन् २००९ मा सूमीमा औषधि उत्पादन कारखाना सञ्चालनमा ल्याइएको थियो। कम्पनीले ट्याब्लेट, क्याप्सुल र तरल औषधिसहित ५० भन्दा बढी जेनेरिक औषधिका ब्रान्ड उत्पादन गर्दै आएको छ।

उसका उत्पादन युक्रेनबाहेक उज्बेकिस्तान, कजाकिस्तान, फिलिपिन्सलगायत नौभन्दा बढी देशमा बिक्री हुने गरेका छन्।

युद्धबीच पनि सञ्चालनमा थियो कारखाना

रुस–युक्रेन युद्ध सुरु भएपछि पनि सूमीस्थित उक्त कारखाना सञ्चालनमा रहेको थियो। पछिल्लो ड्रोन हमलापछि भने कारखानाको मुख्य काम प्रभावित भएको छ।

रुसले पछिल्लो समय युक्रेनका विभिन्न क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रयोग गर्दै आएको छ। युक्रेनी पक्षले त्यस्ता ड्रोन रोक्न कठिनाइ भइरहेको बताउँदै आएको छ।

यसैबीच, रुसले अक्टोबर ३ मा युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको जनाइएको छ। किभको नर्दन पुलमा समेत क्षति पुगेको छ।

जर्मनीका चान्सलर फ्रेडरिक मर्जको किभ भ्रमणकै क्रममा भएको पछिल्लो रुसी आक्रमणमा किभसहित खार्किभलगायत क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।