अन्य दललाई रविको जवाफ : लोकतन्त्रको ठेक्का नलिनुस्, खतरामा परे जोगाउने जनता छन्

अन्य दललाई रविको जवाफ : लोकतन्त्रको ठेक्का नलिनुस्, खतरामा परे जोगाउने जनता छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार नढल्ने दाबी गर्दै सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार कमजोर भएको चर्चा भइरहे पनि त्यस्ता चर्चाबाट सरकार नढल्ने बताए।

‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ उनले भने। लामिछानेले आफू सत्तापक्षमा रहे पनि कांग्रेस महाधिवेशनको मञ्चमा ‘एक्लो प्रतिपक्षी’ जस्तो देखिएको भन्दै व्यंग्य गरे।

‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ उनले भने।

‘कांग्रेसको शक्ति इतिहास हो’

लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक पुँजी उसको लामो इतिहास भएको बताए। कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानको आफूले सम्मान गर्ने उनको भनाइ थियो।

‘नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोर पनि इतिहास हो,’ उनले भने, ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ।’

उनले कांग्रेसको इतिहासबाट उपलब्धि मात्र नभई कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्ने बताए। इतिहासलाई गौरवको विषयमा मात्र सीमित नगरी आगामी राजनीतिक यात्राको सिकाइका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

लामिछानेले कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र राजनीतिक अवसर दिएको भए आफू पनि कांग्रेसमै हुन सक्ने संकेत गरे। राजनीतिक दलहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने उनले बताए।

‘लोकतन्त्रको ठेक्का नलिनुस्’

लामिछानेले लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने बताए। लोकतन्त्र खतरामा परे त्यसको रक्षा जनताले गर्ने उनको भनाइ थियो।

‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्,’ उनले भने, ‘हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ।’

निर्वाचनबाट जनताले दिएको मतलाई भ्रमित पारेर जनादेशको अपमान गर्न नहुने उनले बताए। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले अस्वीकार गर्ने अधिकार रहेको भन्दै त्यसलाई स्वीकार गर्ने उनको भनाइ थियो।

‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ उनले भने।

‘मुलुकको कुरामा पार्टी र झन्डा फरक हुँदैन’

लामिछानेले राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूबीचको विभाजन गौण हुनुपर्ने बताए।

‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ उनले भने।

उनले बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे। लोकतान्त्रिक उपलब्धिलाई तलमाथि पार्ने प्रयास स्वीकार्य नहुने भन्दै त्यसको रक्षा सबै राजनीतिक शक्तिको जिम्मेवारी भएको बताए।

कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ चरण सुरु भएको उल्लेख गर्दै लामिछानेले कांग्रेसले आफ्नो लामो इतिहासबाट सिकेर नयाँ पुस्ताको चाहना र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए।