काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले गत वर्ष भदौ २३ र २४ गते देशमा दुर्घटना भएको बताएका छन्।
नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेपछि त्यसले सबै दल तथा नेता उस्तै हुन् भन्ने सन्देश जनतामा गएर भदौ २३ र २४ ले सबैलाई जलाएको पनि थापाले बताए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले लामो समयदेखि प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा उही व्यक्तिहरू दोहोरिरहने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताए। त्यसकै परिणामस्वरूप भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको भनाइ थियो।
‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’
थापाले राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि लामो समयदेखि बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको बताए। त्यसको असर कुनै एउटा दल वा नेतामा मात्र नभई समग्र राजनीतिक नेतृत्व र प्रणालीमाथि परेको उनको भनाइ थियो।
‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने।
‘अति राजनीतीकरणले जनतालाई हाइपर पोलिटिक्सतिर लग्यो’
थापाले नेपालको सार्वजनिक जीवनमा अत्यधिक राजनीतिकरण भएको बताए। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।
‘अति राजनीति पनि छ। फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उनले भने।
उनका अनुसार राजनीतिक दलहरूले बदलिँदो जनभावना र बढ्दो असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा राजनीतिक संकट थप गहिरिँदै गएको हो।
‘दुईतिहाइको सरकारलाई जनताले बुझ्नै पाएनन्’
थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताए।
‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ उनले भने।
भदौ २३ र २४ गतेका घटनाबाट कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रभावित भएको उल्लेख गर्दै थापाले त्यसबाट पाठ सिकेर कांग्रेसले आफूलाई सम्हाल्न विशेष महाधिवेशनमा गएको बताए।
‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ,’ उनले भने।
चुनाव हारे पनि नयाँ यात्रामा कांग्रेस
विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको थापाले बताए। कांग्रेसले विगतमा पनि विभिन्न निर्वाचनमा हार र जित व्यहोर्दै आएको उल्लेख गर्दै उनले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए।
‘त्यसपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ। अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौँ,’ उनले भने।
थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरी समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए।
जनतामा बढेको राजनीतिक वितृष्णा र राजनीतिक दलप्रतिको अविश्वास चिर्न कांग्रेसले नेतृत्व, व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
उनले नयाँ पुस्ताको अपेक्षा र बदलिँदो राजनीतिक चेतनालाई आत्मसात् गरेर मात्रै कांग्रेसले जनतासँगको सम्बन्ध पुनः बलियो बनाउन सक्ने बताए।




प्रतिक्रिया