दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायातका साधन सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ ।

समितिले नजिकिँदै गरेको दसैँ, तिहार तथा छट पर्वमा यात्रुलाई आवागमनमा सहजता पुर्याउनका लागि सबै सडक यातायात सञ्चालनयोग्य बनाउन स्थानीय तह र सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापन गर्ने/गराउने निर्णय गरेको हो ।

मध्यपहाडी लोकमार्गबाहेक सबै ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले वर्षा हुनासाथ अवरुद्ध बन्ने गरेका छन् । १० स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहको वडा–वडामा ग्रामीण सडक पुगे पनि कालोपत्र नहुँदा दिउँदको समयमा करिब ६ महिना मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

जिल्लामा निर्माण गरिएका ग्रामीण सडकलाई तत्काल मर्मत गरेर दसैँअघि नियमित सञ्चालनमा ल्याएमा धेरै जिल्लावासीले राहत महसूस गर्ने भएकाले सम्बन्धित निकायले मर्मत गर्ने/गराउने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिए ।

‘आफ्नो क्षेत्रको सडक निर्माण, मर्मत तथा सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित पालिको हो । यसमा हामी पनि समन्वय गर्ने काम गर्छौँ,’ उनले भने, ‘चाडपर्व मान्न आफ्नो गाउँ आएका कुनै पनि व्यक्तिले दु:ख पाउनुभएन । अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रशासनको तर्फबाट सक्दो सहयोग उपलब्ध हुनेछ ।’

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी–जयरामघाट खण्डलाई २४सै घण्टा सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिए । उक्त खण्ड खोटाङसहित छिमेकी जिल्ला भोजपुरका स्थानीयले समेत प्रयोग गर्दै आएकाले सडक मर्मतसम्भारका लागि मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट–दिक्तेल सडक आयोजना र सम्बन्धित पालिकाले समन्वय तथा आवश्यक सामग्रीसहित व्यवस्थापन गर्ने/गराउने निर्णय गरिएको छ ।

प्रशासनद्वारा आयोजित विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाको विभिन्न पालिकामा निजी आवास पुनर्निर्माण तथा प्रवलीकरणका लागि प्राप्त भएको दोस्रो किस्ता बापतको रकम अनुमोदन गर्ने निर्णय गरेको छ । निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणका लागि दोस्रो किस्ताबापत ३ लाख ४० हजार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ का सुविन श्रेष्ठ र कुमार श्रेष्ठलाई वितरण भएकाले अनुमोदन गरिएको प्रजिअ गुरुङले जानकारी दिए ।

गत साउन १५ र २५ गते तथा भदौ १ गते आएको अविरल वर्षाका कारण क्रमश: दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्मा, वडा नं १० पाथेका र वडा नम्बर ११ खार्मीका सडकमा लगाइएको तटबन्धमा क्षति पुर्याएकाले मर्मतका लागि बजेट व्यवस्थापन गर्न कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गरिएको सिफारिसलाई अनुमोदन गरिएको छ ।

जिल्लामा हुनसक्ने विपद्का घटनाको प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पक्षको सहभागितामा व्यावहारिक अभ्यास गर्ने निर्णय गरिएको छ ।