बोस्टन, म्यासाचुसेट्स- बर्मुडाबाट अमेरिकाको बोस्टनका लागि उडेको एउटा जहाज शनिबार बिहानदेखि बेपत्ता भएको छ। ६ जना सवार क्यानेडियन दर्ता नम्बर भएको एक एयर एम्बुलेन्स जेट शनिबार बिहान अचानक सम्पर्कविहीन भएपछि अमेरिकी कोस्ट गार्डका हवाई र समुद्री टोलीले न्यानटुकेटको तटमा खोजी तीव्र पारेका छन्।
शनिबार स्थानीय समय अनुसार राति करिब १२:४१ बजे बर्मुडाको एल.एफ. वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजको गन्तव्य बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थल थियो।
ओन्टारियोस्थित ल्याटिट्यूड एयर एम्बुलेन्सद्वारा सञ्चालित दुई इन्जिनयुक्त गल्फस्ट्रिम जी१०० जेट (टेल नम्बर सी-जीआरजेपी) यो जहाज बिरामी ओसार्न प्रयोग हुन्थ्यो।
उक्त जहाजमा सवार क्यानेडियन मेडिकल टोलीका ४ जना (२ जना पाइलट र २ जना स्वास्थ्यकर्मी) तथा एकजना बर्मुडियन बिरामी र उनका आफन्तससहित सबै ६ जना बेपत्ता छन्।
प्रारम्भिक उडान ट्र्याकिङ डेटाका अनुसार खराब मौसम र आँधीबेहरीको नजिक पुग्दा गम्भीर विद्युतीय खराबी र नेभिगेसन प्रणाली ठप्प भएको रिपोर्ट गरेपछि जेट २४,००० फिटको उचाइबाट जहाज तीव्र गतिमा तल खसेको थियो।
मल्टि-एजेन्सी खोजी टोलीले शनिबार बेलुका न्यानटुकेट टापुको दक्षिणतर्फ समुद्रमा विमानका केही अवशेषहरू भेट्टाएको छ।
करिब दुई घण्टाको यो मेडिकल उडान अन्तर्गत करिब ६७० समुद्री माइल पार गरेपछि बिहान २ बजे विमान राडारबाट गायब भएको थियो। उड्डयन प्रशासन (एफएए) ले लगत्तै ‘खोज तथा उद्धार अलर्ट’ (अल्नोट) जारी गरेको थियो।
लाइभएटीसी.डटनेटको एयर ट्राफिक कन्ट्रोल अडियो रेकर्डिङअनुसार, उडान ठप्प हुनुभन्दा केही क्षणअघि पाइलटले विमानमा गम्भीर विद्युतीय समस्या आएको जानकारी दिएका थिए। खराब मौसमबीच बिनाकुनै डिजिटल इन्स्ट्रुमेन्ट उडान भरिरहेको पाइलटले स्वीकार गरेका थिए।
लाइभएटीसी डट नेटका अनुसार कन्ट्रोलरले पाइलटलाई सोधे, ‘तपाईँले भन्नुभयो कि तपाईँ केही नदेखी आउँदै हुनुहुन्छ, के तपाईँले यही भन्नुभएको हो?’, पाइलटको जवाफ प्रस्ट सुनिएन। त्यसपछि कन्ट्रोलरले चालक दलले आपतकालीन अवस्था घोषणा गरिरहेको हो कि होइन भनेर सोधेका थिए।
रोयटर्सका अनुसार, विमान करिब २४ हजार फिटको उचाइमा उडिरहेको थियो। त्यसपछि यसले करिब दुई मिनेटमा लगभग १३ हजार फिट उचाइ गुमायो (तल खस्यो)।
एसोसिएटेड प्रेसका अनुसार, सम्पर्कविच्छेद हुनुअघि विमान करिब १० हजार फिटसम्म तल आइसकेको थियो। तीव्र गतिमा तल खस्ने यो घटना विमान म्यासाचुसेट्सको तटीय क्षेत्रतर्फ अघि बढिरहेका बेला भएको थियो। बोस्टन ग्लोबका अनुसार, विमान न्यानटुकेटबाट करिब ८० माइल दक्षिणमा थियो।
यसै क्रममा लोगान विमानस्थलमा खटिएका आपतकालीन टोलीलाई विमानको अवतरणका लागि तयारी अवस्थामा रहन भनिएको थियो, तर विमान बोस्टन पुग्न सकेन।
घटनालगत्तै अमेरिकी कोस्ट गार्ड (युएससीजी) ले टोलीहरू परिचालन गरेर खोजी थालेको थियो ।
गल्फस्ट्रिम जी१०० (मूल रूपमा आईएआई अस्ट्राको रूपमा विकसित) मध्यम आकारको दुई इन्जिनयुक्त बिजनेस जेट हो। यसको गति र लामो दूरीको क्षमताका कारण बर्मुडा जस्ता टापुहरूबाट बोस्टनका ठूला अस्पतालहरूमा बिरामी ल्याउन-लैजान यो जेटको व्यापक प्रयोग गरिन्छ।
के हो बर्मुडा ट्रायाङ्गल ?
बर्मुडा ट्रायाङ्गल उत्तर एटलान्टिक महासागरको एउटा यस्तो क्षेत्र हो, जहाँ धेरै सङ्ख्यामा हवाई जहाज र पानीका जहाजहरू रहस्यमय रूपमा गायब भएका छन्। यसलाई ‘डेभिल्स ट्रायाङ्गल’ वा ‘राक्षसी त्रिकोण’ पनि भनिन्छ।
यो क्षेत्र मुख्यतया अमेरिकाको फ्लोरिडा, बर्मुडा टापु, र पुएर्टो रिको बीचमा पर्छ। यी तीनवटा ठाउँलाई जोड्दा एउटा त्रिकोण बन्ने भएकाले यसलाई बर्मुडा ट्रायांगल भनिएको हो।
विमान बर्मुडाबाट उडेकाले सामाजिक सञ्जालमा काल्पनिक ‘बर्मुडा ट्रायाङ्गल’को चर्चा सुरू भएको छ। यद्यपि, उड्डयन सुरक्षा विशेषज्ञहरूले यस्ता घटनाका वास्तविक कारणहरू अरू नै हुने गरेको बताएका छन्।
रातको समयमा खुला समुद्रमा इन्स्ट्रुमेन्ट प्यानलबिना उडान गर्दा पाइलटहरूले उचाइ र दिशाको सही अनुमान लगाउन नसक्दा जहाजहरू अल्मलिने गर्छन्।
जहाजको मुख्य विद्युतीय प्रणाली नै बन्द हुँदा नेभिगेसन रेडियो र वेदर राडारजस्ता महत्त्वपूर्ण उपकरणहरू ठप्प हुने विज्ञहरू बताउँछन्। अर्कातिर समुद्रमा अचानक आउने आँधीबेहरी र कुहिरोले गर्दा दृश्यता शून्य प्राय: हुँदा पनि जहाज संकटमा पर्छ।
अमेरिकी कोस्ट गार्ड, राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) र क्यानेडियन अधिकारीहरूले संयुक्त रूपमा खोजी जारी राखेका छन्। बेपत्ता ६ जनाकै परिवारलाई घटनाबारे जानकारी गराइसकिएको छ।




प्रतिक्रिया