विमानस्थल आसपास चङ्गा, बेलुन र ड्रोन नउडाउन प्राधिकरणको आग्रह

विमानस्थल आसपास चङ्गा, बेलुन र ड्रोन नउडाउन प्राधिकरणको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दशैं लगायतका चाडपर्व सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गतिविधि बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले चङ्गा, बेलुन तथा ड्रोन नउडाउन आग्रह गरेको छ ।

कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै विमानस्थलको आसपास तथा वायुयानको उडान र अवतरण मार्गमा चङ्गा, बेलुन तथा ड्रोनजस्ता वस्तु उडाउँदा हवाई उडान सञ्चालनमा गम्भीर सुरक्षा चुनौती उत्पन्न हुन सक्ने जनाएको हो ।

कार्यालयका अनुसार विमानस्थलको उडान तथा अवतरण क्षेत्रमा चङ्गा, डोरी, धागो, बेलुन वा ड्रोन प्रवेश गर्दा वायुयानको सुरक्षित उडान तथा अवतरणमा अवरोध सिर्जना हुनुका साथै उडान सुरक्षामा प्रतिकूल असर पर्न सक्छ । विमानस्थल आसपास यस्ता गतिविधि गर्न नहुने कानुनी व्यवस्था रहेको पनि कार्यालयले जनाएको छ ।

विमानस्थल नागरिक उड्डयन कार्यालयले यस्ता गतिविधि रोक्न विगतदेखि नै स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग समन्वय गर्दै आएको जनाएको छ । आमनागरिकमा सचेतना अभिवृद्धि गर्न आधिकारिक तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने, सम्बन्धित टोल क्षेत्रमा पुगेर माइकिङ गर्ने लगायतका कार्यक्रम सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ।

कार्यालयले सर्वसाधारण, अभिभावक, बालबालिका तथा सम्बन्धित समुदायलाई विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा, बेलुन र ड्रोन नउडाउन आग्रह गरेको छ ।

उडान सुरक्षा विमानस्थल तथा सम्बन्धित निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कार्यालयले सुरक्षित हवाई सञ्चालन तथा यात्रुको सुरक्षाका लागि सबैको सहयोग, सहकार्य र जिम्मेवार व्यवहारको अपेक्षा गरेको छ ।