खुलामञ्चको सन्देश

गगनलाई कांग्रेस बदल्ने चुनौती, रास्वपालाई आशा जगाउने दबाब

गगनलाई कांग्रेस बदल्ने चुनौती, रास्वपालाई आशा जगाउने दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आइतबार काठमाण्डुको खुला मञ्चमा नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन उद्घाटन मात्रै भएन, त्यहाँ वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न पनि उठे। अर्कोतिर लोकतन्त्रबारे पनि चर्को बहस भयो । उक्त मञ्चमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सहकारी ठगीको आरोप सहनु पर्‍यो।

लामिछानेलाई लक्षित गर्दै सहकारीको अर्बौं रकम ठगीको विषय उठाइएपछि कांग्रेसका प्रतिनिधि र कार्यकर्ताले मैदानबाट चर्को हुटिङ गरे । खुलामञ्चमा राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले ‘नेपाली जनताले दुःखजिलो गरेर सहकारीमा राखेको अर्बौं रुपैयाँ ठगी भएको छ’ भन्ने कडा अभिव्यक्ति दिए । मञ्चमै उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई लक्षित गरेर उक्त कुरा उठाइएपछि सहभागीहरूले चर्को हुटिङ गरे।

यही समारोहमा खुलामञ्चको मञ्चबाट फागुन २१ को चुनावमा इतिहासमै सबैभन्दा नमिठो धक्का व्यहोरैको कांग्रेसको भविष्यसँगै देशको राजनीतिक दिशा, वालेन्द्र नेनृत्वको  सरकारको कार्यशैली र लोकतन्त्रको अवस्थाबारे गरमागरम बहस भयो। कांग्रेस सभापति गगनकुमार थापाले पुरानो सत्ता–चक्र तोड्नुपर्ने बताए।

उता उनलाई शुभकामना दिन आएका नेताहरूले नयाँ विचार र कामबाट कांग्रेस रूपान्तरण गर्न आग्रह गरे। रास्वपा सभापति लामिछानेले कांग्रेसभित्रको किचलोबारे सल्लाह दिए भने अन्य नेताहरूले रास्वपा नेतृत्वको सरकारलाई संवाद र जनताको आशा जगाउने काममा खरो उत्रिन सुझाए ।

महाधिवेशन उद्घाटनस्थलको मञ्चबाट उठेका फरक–फरक भनाइको साझा प्रश्न थियो-नेतृत्व र अनुहार फेरिएपछि राजनीति गर्ने प्रवृत्ति पनि फेरिन्छ कि फेरिँदैन ?

 ‘म्युजिकल चियर’को राजनीति रोकौँ

सभापति थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिने प्रवृत्तिले राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताए। प्रधानमन्त्री बनेका फेरि प्रधानमन्त्री बन्न खोज्ने, मन्त्री र नेता बनेकाहरूले पद नछाड्ने शैलीले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा बनेको उनको भनाइ थियो। त्यसबाट राजनीतिप्रति वितृष्णा बढेको र २०८२ भदौ २३–२४ का घटनाको पृष्ठभूमि बनेको उनले कडा टिप्पणी गरे।

कांग्रेसभित्रको अवस्थाबारे पनि थापा खुलेर बोले। पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिएको, तर उनी सहभागी नभएको बताए।

पार्टी छाडेर गएका नेताहरूबारे कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने उनको जोड थियो। संस्थापकहरू बीपी कोइराला र गणेशमान सिंहको विरासत सम्झिँदै उनले कांग्रेसलाई बलियो बनाउनु नै उनीहरूप्रतिको साँचो सम्मान हुने धारणा राखे।

थापाको सम्बोधनमा नयाँ नेतृत्वले विगतको समीक्षा गर्नुपर्ने र पार्टीभित्र तथा बाहिर रहेका नेताहरूसँगको सम्बन्धबारे स्पष्ट हुनुपर्ने सन्देश थियो। अब प्रश्न छ- उनैले भनेको राजनीतिक रूपान्तरण पार्टीको नीति, संगठन र काममा कसरी देखिएला ?

प्रचण्ड-बाबुराम : क्रमभंगसँगै नयाँ विचार चाहिन्छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा आफूले धेरै राजनीतिक क्रमभंग गरेको बताएका छन् । १० वर्षे जनयुद्धको बलमा गणतन्त्र र संघीयता ल्याउन निर्णायक भूमिका खेलेका उनले अब आफू थाकेको भाव व्यक्त गरे। तर अब त्यस्तो क्रमभंग गर्न आफूले नसक्ने उनले बताए । अब त्यो क्रमभंग गर्ने पालो गगन थापा र रवि लामिछानेको पुस्ताको भएको उनले बताए। गगन थापाले कांग्रेसलाई नयाँ इतिहासतर्फ डोर्‍याएको भन्दै उनले बधाई पन दिए ।

शान्ति प्रक्रियाका केही काम अझै बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती पूरा गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताए। शान्ति सम्झौतालाई सफलतामा पुर्‍याउन पनि सभापति थापालाई उनले आग्रह गरे। जटिल राजनीतिक अवस्थामा लोकतान्त्रिक र गणतान्त्रिक शक्तिबीच सहकार्य र समझदारी आवश्यक रहेको उनको आशय थियो ।

जनयुद्धदेखि शान्ति प्रक्रियासम्म दाहालका सहयात्री पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सभापति थापालाई बधाई दिँदै कांग्रेसले नयाँ विचार, नीति र कार्यक्रमसहित अघि बढ्नुपर्ने बताए।

लोकतन्त्रका लागि लामो संघर्ष गरेको इतिहास भए पनि त्यसलाई आजको आवश्यकता सुहाउँदो नीति र कार्यक्रमले बलियो बनाउनुपर्ने सन्देश उनले कांग्रेसजनलाई दिए ।

नयाँ पुस्ताले विश्वास जगाओस्

उता नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीले कांग्रेस नयाँ रूपमा अघि बढ्नुपर्ने बताए। पुराना नेताहरूले देशका लागि गर्न सक्ने काम नगरेको टिप्पणी गर्दै उनले अब गगन थापाको पुस्ताबाट जनताले आशा गरेको बताए। पार्टीलाई नयाँ ढंगले अघि बढाएर देशका समस्या समाधान गर्न उनले थापालाई आग्रह गरे।

प्रचण्ड, भट्टराई र चौधरीका भनाइले कांग्रेसका लागि एउटै साझा चुनौती अघि सारे : नेतृत्व फेरिएको दाबीलाई नयाँ विचार, नीति र कामबाट प्रमाणित गर ।

रविको सल्लाह र रास्वपामाथि प्रश्न

रास्वपा सभापति रवि लामिछानेले कांग्रेसभित्र निरन्तर किचकिच गर्नेहरूलाई फकाउँदै शक्ति खर्च गर्नुभन्दा उनीहरूलाई छोडिदिनु राम्रो हुने सल्लाह दिए।

उनले कुनै नेताको नाम लिएनन्। तर उनले यस्तो कुरा इतर समूह चलाइरहेका पूर्वसभापति शेरबहादुर देउवालाई लक्षित गरि बोलेका थिए । देउवालाई निम्ता दिए पनि नआएको कुरा गगनले महाधिवेशनको मञ्चमा राखे । उता रविले यसअघि आफूले थापालाई लगाएको ‘गुन’ मान्ने वा नमान्ने जिम्मा उनकै भएको फरक तर्क पनि गरे।

तर समारोहमा रास्वपा नेतृत्वको सरकारमाथि पनि प्रश्न उठे। एमाले महासचिव शंकर पोखरेलले वालेन्द्र शाह नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाए।

सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरेको भन्दै उनले लोकतन्त्रको भविष्यबारे चिन्ता व्यक्त गरे।

राष्ट्रिय मुद्दा र सम्भावित संकट सामना गर्न दलहरूबीच संवाद र सहकार्य हुनुपर्ने उनको भनाइ थियो। उनले सभापति लामिछानेले दलहरूलाई राष्ट्रिय मुद्दामा एक ठाउँमा ल्याउने प्रयास गर्ने गरेको पनि उल्लेख गरे।

यसरी रविले कांग्रेसलाई पार्टीभित्रको किचलोबारे सल्लाह दिँदा, पोखरेलले रास्वपा नेतृत्वको सरकारलाई आफ्नै संवाद र कार्यशैली सुधार्न चुनौती दिए। प्रतिपक्षलाई सल्लाह दिन सजिलो छ,जनतामा आशा जगाउने जिम्मेवारी भने सरकारकै हो-मञ्चबाट उठेको बहसको एउटा सार यो पनि थियो।

पात्रसँगै व्यवस्था र सहकार्यबारे पनि बहस

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको बताए। देशको समस्या व्यक्तिमा मात्रै सीमित नरहेको तर्क गरेका उनले संविधान तथा व्यवस्थामा पनि कमजोरी रहेको जिकिर गरे।

राजादेखि नयाँ पुस्तासम्म अटाउने राष्ट्रिय सहमति अहिले पनि आवश्यक रहेको उनले बताए। २००७ सालको प्रजातन्त्र, बहुदल, २०६२–६३ को समावेशी परिवर्तन र २०८२ को नवयुवाको मागलाई समेटेर अघि बढ्नुपर्ने प्रस्ताव उनले कांग्रेसको मञ्चमा राखे।

जसपा नेपालका नेता शरतसिंह भण्डारीले जनतालाई कुनै बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताए। उनको यो भनाइ वर्तमान सरकारका लोकतन्त्रविरोधी गतिविधितर्फ लक्षित थियो ।

उता उनले प्राकृतिक विपद्, आर्थिक मन्दी, बेरोजगारी र युवाको विदेश पलायनजस्ता चुनौती उल्लेख गर्दै उनले प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको औँल्याए।

मञ्चले दिएको हिसाब

आइतबारको सम्बोधनमा नेताहरूका तर्क फरक फरक थिए। कसैले पार्टीभित्रको किचलो छाड्न भने, कसैले संविधान र व्यवस्थामै पुनर्विचार गर्न मागे, कसैले प्रधानमन्त्री वालेन्द्र शाहको संवादही शैलीमाथिथि प्रश्न गरे, कसैले नयाँ पुस्ताले नीति र काममा परिवर्तन देखाउनुपर्ने बताए।

तर धेरै वक्ताको चिन्ता एउटै थियो-जनतामा निराशा बढेको छ । र, त्यसलाई पुरानै शैलीले हटाउन सकिँदैन। नयाँ पनि पुरानै शैलीका देखिए। जनतामा भरपर्दो आशा जगाउन सकेनन्।

अर्कातिर कांग्रेसका लागि चुनौती तेर्सिएको छ, ‘के गगन थापाको नेतृत्वले पुरानो सत्ता–चक्र र पार्टीभित्रको विवादबाट बाहिर निस्केर नयाँ नीति र परिणाम दिन सक्छ ? कांग्रेस महाधिवेशनको मञ्चले रास्वपाका लागि पनि चुनौती थपिदिएको छ- परिवर्तनको वाचाअनुसार सरकारले नतिजा दिन सक्षम होला ? प्रधानमन्त्री वालेन्द्र शाहमाथि लागेको संवाद र काममा सन्तुलन मिलाउन नसकेको आरोपले रास्वपाको दबाब बढाएको छ ।