काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई लिएर मध्यराति व्यंग्य गरे। महाधिवेशनका अतिथिले आफ्नो आलोचना गरेपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका बालेनलाई जेन-जी अभियन्ता रक्षा बमले कडा जवाफ दिएकी छन्।
बमले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहलाई लक्षित गर्दै जेन-जी आन्दोलनका कारण अहिलेका सतारूढ राजनीतिक नेतृत्वले अवसर पाएको टिप्पणी गरेकी हुन्।
उनले लेखेकी छन्, ‘धन्न जेन-जीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
बमको यो टिप्पणी प्रधानमन्त्री शाहले कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा आफूविरुद्ध भएको आलोचनाप्रति सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियापछि आएको हो।
शाहले आइतबार फेसबुकमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यङ्ग्य गरेका थिए। उनको उक्त टिप्पणी कांग्रेस सभापति गगनकुमार थापाको अभिव्यक्तिप्रति लक्षित रहेको छ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। उनले सरकार र प्रधानमन्त्रीको भूमिकामाथि समेत प्रश्न उठाएका थिए।
त्यसपछि शाहले सामाजिक सञ्जालमार्फत कांग्रेस महाधिवेशन र आफूविरुद्ध गरिएको आलोचनाप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका थिए। ।
शाहको प्रतिक्रियापछि जेन-जी अभियन्ता बमले पनि सरकारको नेतृत्वमा पुगेकाहरूको राजनीतिक संस्कारमाथि प्रश्न उठाउँदै टिप्पणी गरेकी हुन्।




प्रतिक्रिया