दोहामा भेट्ने बाचासहित २०औं एसियाली खेलकुद सम्पन्न, दुई कांस्य पदकमा नेपाल सीमित

दोहामा भेट्ने बाचासहित २०औं एसियाली खेलकुद सम्पन्न, दुई कांस्य पदकमा नेपाल सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापानको आइची–नागोयामा आयोजना भएको २०औं एसियाली खेलकुद आइतबार भव्य समापन समारोहसँगै सकिएको छ।

एसियाका ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेको महादेशीय खेलकुदको महाकुम्भमा नेपाल भने दुई कास्य पदकमै सीमित भएको छ।

समापन समारोहअघि आइतबार विभिन्न कलाकारको प्रस्तुति समेटिएको विशेष कार्यक्रम आयोजना गरिएको थियो। जापानी गायिका तथा कलाकार, संगीत समूह र निप्पोन स्पोर्ट्स साइन्स युनिभर्सिटीका कलाकारले समारोहपूर्वको कार्यक्रममा सहभागिता जनाएका थिए।

औपचारिक समारोहमा एसियाली खेलकुदको यात्रालाई स्मरण गर्दै खेलाडी, प्रशिक्षक, आयोजक तथा स्वयंसेवकको योगदानलाई सम्मान गरिएको थियो।

समारोहमा एसियाली खेलकुदको झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गरियो । कतारी घोडचढी खेलाडी जासिम अल कुवारीले घोडामा सवार हुँदै झन्डा ग्रहण गरेर दोहाको प्रतिनिधित्व गरेका थिए। यससँगै जापानले आयोजना गरेको एसियाली खेलकुदको औपचारिक यात्रा टुंगिएको थियो।

अब २०३० मा हुने २१औं एसियाली खेलकुदको आयोजना दोहाले गर्नेछ।

सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालले कराते र महिला कबड्डीबाट एक-एक कांस्य पदक जितेको छ। करातेका तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ केजीमाथिको स्पर्धामा कांस्य जित्दा महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा कांस्य पदक हात पारेको थियो।

नेपालले यसअघि चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा पनि महिला कबड्डीबाट कांस्य जितेको थियो।

एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक जित्ने सपना यसपटक पनि पूरा हुन सकेन। नेपालले अहिलेसम्म एसियाडमा स्वर्ण जित्न सकेको छैन। यसपटक करातेकी एरिका गुरुङसहित पदकको आशा गरिएका खेलाडीबाट ठूलो अपेक्षा गरिएको थियो।
२०औं एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो वर्चस्व कायम राखेको छ। चीनले १ सय ६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य गरी कुल ३ सय ४१ पदक जित्दै पहिलो स्थान हासिल गरेको छ।

आयोजक जापान ३९ स्वर्ण, ९५ रजत र ९१ कांस्य गरी कुल २२५ पदकसहित दोस्रो भयो। दक्षिण कोरिया तेस्रो र भारत चौथो स्थानमा रह्यो। भारतले २१ स्वर्णसहित कुल ८५ पदक जित्यो।