रास्वपा नेता सिंहले दिए कांग्रेस सभापति थापालाई सुझाव

रास्वपा नेता सिंहले दिए कांग्रेस सभापति थापालाई सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले नेपाली कांग्रेसको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि आफू बाहिरिन बाध्य टिप्प्णी गरेका छन् ।

आफू नेता रहेको पूर्वपार्टी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई जवाफ फर्काउँदै नेता सिंहले कांग्रेस त्यतिकै नछोडेको र पुराना दलका पार्टी छाडेर जाने नेताहरू त्यसै नबाहिरिएको बताएका हुन्।

कांग्रेस सभापति गगन थापाले महाधिवेशनको उद्घाटन समारोहमा रास्वपालाई चुनावमा भोट मात्रै नभएर प्रशिक्षित नेताहरू पनि दिएको सुनाएका थिए।

थापाको उक्त भनाइमा सामाजिक सञ्जालमार्फत टिप्प्णी गर्दै सिंहले कांग्रेस त्यतिकै नछोडेको जवाफ फर्काए । ‘पुराना दलका पार्टी छाडेर जाने नेताहरू त्यसै नबाहिरिएका हुन’, उनले फेसबुकमा लेखेका छन् ।

‘नयाँ पार्टीका सभापति ज्यु, यत्तिकै पार्टी छोडेर गएका होइनन्’ उनले लेखेका छन्, ‘तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्।’

सिंहले लोकतन्त्र ल्याउने पार्टी भनेर गर्व गर्ने नेतृत्वले त्यही पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याउने जिम्मेवारी पनि लिनुपर्ने उल्लेख गरेका छन् । ‘नाक फुलाएर लोकतन्त्र ल्याउने पार्टी भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो– त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको हो ?’ उनले प्रश्न गरेका छन्।

सिंहले इतिहासको गौरव गाएर मात्र नहुने भन्दै वर्तमान अवस्थाको जिम्मेवारीसमेत लिनुपर्ने सुझाव दिएका छन् ।

लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने तर त्यही पार्टीको जग आफैँ भत्काउने अवस्था विडम्बनापूर्ण भएको उनले टिप्पणी गरेका छन्।

‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ । लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने योभन्दा ठूलो विडम्बना अरू के होला ?’ उनले लेखेका छन् ।