नेपालमा विपद्को अध्ययन गर्न चिनियाँ वैज्ञानिक आउँदै

नेपालमा विपद्को अध्ययन गर्न चिनियाँ वैज्ञानिक आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ वैज्ञानिकहरूको एक टोलीले नेपाल र चीन दुवै प्रभावित भएको ठूलो भूगर्भीय विपद्को संयुक्त स्थलगत अध्ययन गर्न नेपाल भ्रमण गर्ने भएको छ ।

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको छेन्दुबाट नेपाल प्रस्थान गर्ने टोलीको नेतृत्व चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस (बेइजिङ) ले गर्नेछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को सहकार्यमा सञ्चालन हुने यो संयुक्त सीमा–पार आपत्कालीन वैज्ञानिक अनुसन्धान अभियान करिब २० दिनसम्म चल्नेछ ।

टोलीले नेपालको विपद् सुरु भएको क्षेत्र, चीनमा प्रभावित क्षेत्र तथा हिमाली नदी प्रणालीअन्तर्गतका तल्लो तटीय क्षेत्रको अध्ययन गर्नेछ ।

गत भदौ १० गते नेपालको उत्तरी क्षेत्रमा हिमनदी भत्किएपछि सीमा–पार माटो तथा ढुंगाको बाढी आएको थियो । त्यसबाट ठूलो मानवीय क्षति भएको थियो ।

नेपालबाट सुरु भएको उक्त विपद् नदी प्रणाली र अन्तर्राष्ट्रिय सीमासमेत पार गर्दै चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाह तथा नेपालतर्फ विपद्को मार्गमा रहेका १०० किलोमिटरभन्दा बढी क्षेत्रलाई प्रभावित गरेको थियो । चीनतर्फ ग्यिरोङ बन्दरगाह मुख्य प्रभावित क्षेत्र बनेको थियो ।

विपद्को विकासक्रम सीमापार हुँदै गएकाले एक देशबाट मात्र गरिने अध्ययनले घटनाको सम्पूर्ण शृङ्खला पुनर्निर्माण गर्न नसक्ने भएकाले यसको स्रोतदेखि प्रभावसम्मको क्रम पत्ता लगाउन नेपालमा संयुक्त स्थलगत अध्ययन आवश्यक मानिएको छ ।

चीन र नेपालका १० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान संस्थाका ५० भन्दा बढी अनुसन्धानकर्ता अभियानमा सहभागी हुँदैछन् । चाइनिज एकेडेमी अफ साइन्सेसका प्राज्ञ वाङ चेङसान र नास्टका प्राज्ञ विशाल उप्रेतीले मुख्य वैज्ञानिकका रूपमा टोलीको नेतृत्व गर्नेछन् ।

टोलीले ड्रोन, हेलिकोप्टरमार्फत हवाई सर्वेक्षण तथा स्थलगत भूगर्भीय नक्साङ्कन र नमुना संकलन गर्नेछ । त्यसैगरी विपद्को मार्गमा भएको कटान, ढुवानी र थिग्रिने प्रक्रियाको ढाँचासमेत अध्ययन गरिनेछ ।

अध्ययनबाट प्राप्त निष्कर्षले विपद्को सम्पूर्ण शृङ्खला पुनर्निर्माण गर्न तथा ग्यिरोङ बन्दरगाहको पुनस्र्थापना र पुनर्निर्माणका लागि वैज्ञानिक आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

साथै, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको विपद् जोखिम व्यवस्थापनमा समेत यसले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।