गगनका कान्छा ससुराको आरोप : नुवाकोटको महाधिवेशन प्रतिनिधि छनोटमा आर्थिक चलखेल भयो

गगनका कान्छा ससुराको आरोप : नुवाकोटको महाधिवेशन प्रतिनिधि छनोटमा आर्थिक चलखेल भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका कान्छा ससुरा तथा नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले नुवाकोट–२ ‘ख’ मा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा आर्थिक चलखेल भएको आरोप लगाएका छन्।

महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत रहेका केसीले सामाजिक सञ्जालमार्फत् निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै निर्वाचन रोक्न केन्द्रीय निर्वाचन कार्यालयमा पत्राचार गरिएको भए पनि प्रक्रिया नरोकिनुको पछाडि आर्थिक चलखेल रहेको दाबी गरेका हुन्।

केसीले निर्वाचन अधिकृतले प्राप्त गरेको मतपत्रभन्दा फरक मतपत्र बाहिर छपाएर त्यसमा नौ थरिका हस्ताक्षर गरी मतदान गराइएको आरोप लगाएका छन्। यस्तो गतिविधिको नेतृत्व सहमहामन्त्री तहका नेताहरूबाट भएको उनको दाबी छ।

उनको आरोप नुवाकोट–२ ‘ख’ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामातर्फ लक्षित देखिएको छ। नुवाकोट–२ मा केसी र लामा पक्षले छुट्टाछुट्टै प्यानल बनाएर महाधिवेशन प्रतिनिधिसहित विभिन्न पदमा प्रतिस्पर्धा गरेका थिए।

खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि चयन हुने निर्वाचनमा केसी र उनका दाजु अर्जुननरसिंह केसीसमेत उम्मेदवार थिए। निर्वाचनमा दुवैजना पछि परेपछि केसीले मतपत्र र निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर फरक–फरक देखिएको विषयमा उजुरी परेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले छानबिन नभएसम्म मतगणना रोक्न निर्देशन दिएको छ। बाँकी मतपत्र र मतपेटिका सुरक्षित राख्न पनि समितिले निर्देशन दिएको छ।

नुवाकोट–२ मा मतपत्रमा अनियमितता भएको उजुरीपछि मतगणना रोकिएको विषय सार्वजनिक भएसँगै कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया विवादमा परेको छ। केसीले लगाएका आर्थिक चलखेलसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भएको छैन।