गगनसँग भिड्ने घोषणा गरेका किशोरसिंहको क्षेत्रमा बल्ल छानिँदैछन् महाधिवेशन प्रतिनिधि

गगनसँग भिड्ने घोषणा गरेका किशोरसिंहको क्षेत्रमा बल्ल छानिँदैछन् महाधिवेशन प्रतिनिधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका पूर्वसह-महामन्त्री किशोरसिंह राठौरले सभापतिमा गगनकुमार थापासँग प्रतिस्पर्धा गर्ने घोषणा गरिरहेका बेला उनको निर्वाचन क्षेत्र बर्दिया–२ मा भने १५औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया अझै पूरा भएको छैन।

बर्दिया क्षेत्र नम्बर २ मा आइतबार दिउँसो मात्रै केन्द्रीय र क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी मनोनयन सुरु भएको थियो। उक्त क्षेत्रका निर्वाचन अधिकृतका अनुसार आइतबार दिउँसो साढे ३ देखि साढे ६ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको थियो।

क्षेत्र नम्बर २ अन्तर्गत ‘क’ र ‘ख’ को मतदान मधुवन नगरपालिका–४ स्थित कवर्डहलमा हुँदैछ। यहाँबाट ३३ जना केन्द्रीय प्रतिनिधि चयन हुनेछन्। तीमध्ये एक राठौर पनि हुन् ।

राठौर स्वयम् बर्दिया-२ बाट महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा छन्। प्रतिनिधि चयन भएपछि मात्रै उनी सभापति पदको उम्मेदवारका रूपमा महाधिवेशनको निर्वाचन प्रक्रियामा अघि बढ्न पाउनेछन्।

गगनलाई चुनौती दिने अडान

१५औँ महाधिवेशनमा सभापति गगनकुमार थापालाई चुनौती दिने घोषणा गरेका राठौरले आफ्नो उम्मेदवारीबाट पछि नहट्ने बताउँदै आएका छन्।

राठौरले त्रिचन्द्र क्याम्पसमा आफू स्ववियु सभापति हुँदा गगन थापा सदस्य रहेको स्मरण गर्दै यसपटक गगनले नैतिक रूपमा आफूलाई सभापति पद छाड्नुपर्ने तर्क गरेका छन्।

‘त्रिचन्द्र क्याम्पस पढ्दा म स्ववियु सभापति थिएँ। त्यसबेला गगन मेरो सदस्य थियो। उसले नैतिक रूपमा पनि मलाई सभापति पद छोडिदिँदा न्याय हुन्छ,’ राठौरले भनेका छन्।

उनले आफूलाई पूर्वसभापति शेरबहादुर देउवाले सभापतिमा उठ्न पठाएको भन्ने प्रचारको खण्डन गर्दै आफ्नै निर्णयमा उम्मेदवारी दिन लागेको दाबी गरेका छन्।

‘मलाई पूर्वसभापति शेरबहादुर देउवाले सभापतिमा लड्न पठाएको भन्ने कुप्रचार गरिँदैछ। यो गलत छ। म नैतिक रूपले नै सभापतिमा लड्न लागेको हुँ। म सभापतिको अडानबाट पछि हट्दिनँ, निर्वाचन लडेरै छाड्छु,’ उनले भनेका छन्।

राठौरले थापाको नेतृत्वमा कांग्रेस तीन चिरामा विभाजित भएको आरोपसमेत लगाएका छन्। गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका थापा भने १५औँ महाधिवेशनबाट पनि सभापतिमा दोहोरिने तयारीमा छन्। थापाले आफू सभापतिको उम्मेदवार बन्ने यसअघि नै सार्वजनिक गरिसकेका छन्।

हालसम्म सभापति पदमा थापा र राठौरबीच प्रतिस्पर्धाको चर्चा प्रमुख रूपमा छ। राठौरले आफ्नो उम्मेदवारीलाई लिएर छलफलसमेत अघि बढाइरहेका छन्।

देउवा पक्षबाट सह-महामन्त्री बनेका थिए राठौर

राठौर २०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए।

विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका राठौरले त्रिचन्द्र क्याम्पसको स्ववियु सचिव तथा सभापति र नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।