काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री वालेन्द्र शाहमाथि प्रहार गरेका छन् । तर उनी रास्वपा सभापति रवि लामिछानेबारे भने तुलनात्मक रुपमा मौन बसेका छन्।
१५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ शीर्षकको राजनीतिक प्रस्तावमार्फत थापाले सत्तारुढ रास्वपा र प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
थापाले प्रस्तावमा कुनै राजनीतिक दल वा व्यक्तिको नाम त उल्लेख गरेका छैनन्। तर ‘नयाँपनको दाबी गर्ने’ राजनीतिक शक्ति तथा सरकार सञ्चालनको शैलीबारे गरिएको उनको विश्लेषणले वर्तमान सत्तारुढ रास्वपा र प्रधानमन्त्री शाहको शैलीलाई इंगित गरेको छ।
प्रस्तावमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका दलहरूले नागरिकको असन्तोष र आक्रोशलाई संस्थागत सुधारतर्फ लैजानुको सट्टा राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिमाथि प्रश्न उठाइएको छ।
नयाँपनको दाबी गर्दै आएको राजनीतिले नागरिकमा रहेको आक्रोशलाई आफ्नो राजनीतिक स्वामित्वका रूपमा प्रस्तुत गर्न खोज्नु पनि उचित नभएको थापाको विश्लेषण छ।
थापाले व्यक्तिवादी छवि निर्माण, उत्तेजना र ‘लाइक–सेयर’मा आधारित राजनीतिक शैलीले क्षणिक आकर्षण पैदा गरे पनि त्यसले संस्थागत सुधार र दिगो परिणाम दिन नसक्ने बताएका छन्।
उनको प्रस्तावमा भनिएको छ, ‘राजनीतिको केन्द्र संस्था निर्माण र प्रणाली सुधार हुनुपर्नेमा व्यक्तिगत छवि निर्माण र सार्वजनिक प्रदर्शनमा केन्द्रित हुँदा त्यसले दीर्घकालीन रूपमा नागरिकमा फेरि निराशा पैदा गर्न सक्ने जोखिम रहन्छ।’
यसैगरी, नागरिक आक्रोश तथा गत वर्ष भदौको युवा विद्रोह कुनै एउटा राजनीतिक दल वा समूहको निजी सम्पत्ति नभएको थापाको विश्लेषण छ। नयाँ भनिएका राजनीतिक शक्तिले नागरिक असन्तोष र युवा विद्रोहको सम्पूर्ण स्वामित्व आफैँले दाबी गर्न खोज्नु राजनीतिक रूपमा सही नभएको उनको निष्कर्ष छ।
‘स्टन्टबाजीले संस्था बन्दैन’
थापाले प्रस्तावमा राजनीतिक नेतृत्वको व्यक्तिवादी शैलीप्रति पनि प्रश्न उठाएका छन्। उनले राज्य सञ्चालनमा संस्थागत क्षमता निर्माण, नीति र प्रणाली सुधारभन्दा व्यक्तिगत लोकप्रियता तथा तत्कालीन प्रचारलाई प्राथमिकता दिने प्रवृत्तिले दिगो शासन व्यवस्था निर्माण गर्न नसक्ने बताएका छन्।
व्यक्तिगत छवि, उत्तेजना र सामाजिक सञ्जालमा प्राप्त हुने तत्कालीन लोकप्रियतालाई राजनीतिक उपलब्धिको मापदण्ड बनाउने प्रवृत्तिले नागरिकका वास्तविक समस्या समाधान गर्न नसक्ने तर्क उनले गरेका छन्।
यसलाई वर्तमान सरकार र प्रधानमन्त्री शाहको कार्यशैलीसँग जोडेर हेर्न सकिने कांग्रेस नेताहरूको बुझाइ छ। यद्यपि प्रस्तावमा शाहको नाम कतै पनि उल्लेख गरिएको छैन।
‘नयाँ’ भनिनेमाथि प्रश्न
थापाले नयाँ राजनीतिक शक्तिको उदयलाई पूर्ण रूपमा अस्वीकार भने गरेका छैनन्। बरू त्यसको उदयको सामाजिक पृष्ठभूमि बुझ्नुपर्नेमा जोड दिएका छन्।
नागरिकमा बढेको आक्रोश, राजनीतिक नेतृत्वप्रतिको अविश्वास र नयाँ विकल्पको खोजीलाई कुनै दलको मात्रै उपलब्धिका रूपमा बुझ्न नमिल्ने उनको तर्क छ। त्यो असन्तोष लामो समयदेखि राज्य र राजनीतिक दलहरूको कार्यशैलीबाट निर्माण भएको सामाजिक मनोविज्ञानको परिणाम भएको उनले बताए ।
त्यसैले नयाँपनको नाममा पुरानै राजनीतिक संस्कारलाई फरक शैलीमा दोहोर्याउने प्रवृत्तिबाट पनि सावधान हुनुपर्ने प्रस्तावको निष्कर्ष छ।
पुराना दललाई पनि प्रश्न
थापाल नयाँ राजनीतिक शक्तिको मात्रै आलोचना गरेका छैनन्। उनले परम्परागत तथा सत्ताकेन्द्रित राजनीतिक शक्तिहरूमाथि पनि गम्भीर प्रश्न उठाएका छन्।
नागरिकका वास्तविक प्रश्न, भ्रष्टाचार र असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा त्यसलाई षड्यन्त्रको व्याख्यामा सीमित गर्ने प्रवृत्ति गलत भएको थापाको प्रस्तावमा उल्लेख छ।
त्यस्तै, अल्पकालीन सत्ता जोगाउन विचार र मूल्य-मान्यतामा सम्झौता गर्ने, भागबन्डा र लेनदेनमा आधारित राजनीतिक समीकरण बनाउने तथा सार्वजनिक संस्थाको स्वायत्ततालाई कमजोर पार्ने अभ्यासप्रति थापाले आलोचनात्मक दृष्टिकोण राखेका छन्।
‘व्यवस्था होइन, शासनशैलीमा प्रश्न’
प्रस्तावमा पछिल्लो राजनीतिक असन्तोषलाई लोकतान्त्रिक व्यवस्थाकै अस्वीकारका रूपमा बुझ्न नहुने थापाले संकेत गरेका छन्। नागरिकले लोकतान्त्रिक प्रणालीभन्दा पनि शासनको कार्यशैली, सुशासनको अभाव, भ्रष्टाचार, अवसरको कमी र राजनीतिक नेतृत्वको जवाफदेहितामाथि प्रश्न उठाएको थापाको विश्लेषण छ।
त्यसैले नागरिक असन्तोषलाई देखाएर लोकतान्त्रिक संस्था नै कमजोर बनाउने वा समाप्त पार्ने प्रयास पनि जोखिमपूर्ण हुने प्रस्तावमा भनिएको छ।
चुनावी गठबन्धन नगर्ने
नयाँ र पुराना दुवै राजनीतिक शक्तिको आलोचना गरेका थापाले कांग्रेसको आगामी राजनीतिक बाटो पनि स्पष्ट गरेका छन्।
कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावपूर्व गठबन्धन नगर्ने र आफ्नै विचार, नीति तथा ‘रुख’ चिह्नका आधारमा जनतामाझ जाने प्रस्ताव अघि सारेको छ।
विचार, नीति र कामका आधारमा राजनीतिक प्रतिस्पर्धा गर्ने तथा प्रतिस्पर्धी दलका समर्थकप्रति अपमानजनक भाषा प्रयोग नगर्ने प्रतिबद्धता पनि प्रस्तावमा राखिएको छ।
संविधानको रक्षा, राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन र दीर्घकालीन सार्वजनिक हितका विषयमा भने अन्य दलसँग सहकार्य गर्न कांग्रेस तयार रहने उल्लेख छ। तर यस्तो सहकार्यलाई सत्ता, पद वा संस्थाको भागबन्डामा परिणत गर्न नहुने प्रस्तावको स्पष्ट धारणा छ।
थापाको राजनीतिक प्रस्तावले नयाँपनको नाममा व्यक्तिवादी राजनीति, लोकप्रियताका लागि गरिने प्रदर्शन र तत्कालीन प्रचारमुखी शैली तथा पुराना दलको सत्ताकेन्द्रित र भागबन्डामुखी राजनीतिलाई एउटै मापदण्डबाट प्रश्न गरेको छ।
यसको विकल्पका रूपमा संस्थागत लोकतन्त्र, जवाफदेही शासन, नीति आधारित प्रतिस्पर्धा र दीर्घकालीन परिणाम दिने राजनीतिक संस्कार निर्माण गर्नुपर्ने प्रस्तावले जोड दिएको छ। कांग्रेसले यसै आधारमा आफूलाई पनि विगतको सत्तामुखी राजनीतिक अभ्यासबाट अलग गर्दै नयाँ राजनीतिक कार्यदिशामा अघि बढाउने दाबी गरिरहेको छ।




प्रतिक्रिया