ओडिआई मान्यता जोगाउन ‘गर या मर’को अवस्थामा नेपाल, चारै खेल जित्नुपर्ने दबाब

ओडिआई मान्यता जोगाउन ‘गर या मर’को अवस्थामा नेपाल, चारै खेल जित्नुपर्ने दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी विश्वकप लिग–२ को अन्तिम श्रृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता जोगाउन नेपालका लागि यो श्रृङ्खला महत्त्वपूर्ण छ ।

हाल अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले आसन्न श्रृङ्खलामा घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । नेपाली टोली श्रृङ्खलामा चारवटै खेल जित्ने लक्ष्यका साथ आज बिहान ओमान प्रस्थान गरिसकेको छ ।

तालिकाको शीर्ष छ भित्र पर्न सके नेपालले सोझै एकदिवसीय मान्यता सुरक्षित गर्नेछ । यदि त्यो स्थान हासिल गर्न नसके नेपालले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउनुपर्नेछ ।

नेपाली टोली हालको लय कायम राख्दै ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । टोलीका कप्तान सन्दीप लामिछाने खेलाडीमा उच्च आत्मविश्वास रहेकाले नेपालले आउँदो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छन् ।

एसिसी प्रिमियर कपमा गरेको प्रदर्शन र ओमानमा यसअघिका खेलबाट प्राप्त अनुभवले टोलीलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ ।’एसिसी प्रिमियर कप र त्यसअघि ओमानमा हाम्रो जुन प्रदर्शन रह्यो, त्यो हाम्रो लागि मनोवैज्ञानिक रूपमा सकारात्मक कुरा हो । त्यसलाई अझै राम्रो ऊर्जाका साथ अगाडि बढाउनेछौँ । टिम अहिले एकदम राम्रो लयमा छ’, कप्तान लामिछानेले भने, ‘मौसमले साथ नदिँदा एसियन गेम्समा हामी दुर्भाग्यवश रोकियौँ । नत्र एकदम राम्रो तरिकाले अगाडि बढिरहेका थियौँ ।’

उनले राष्ट्रिय टोलीमा नयाँ खेलाडीको प्रवेशलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताए । राष्ट्रिय टोलीमा स्थान बनाउनु आफैँमा ठूलो उपलब्धि भएकाले नयाँ खेलाडीलाई थप आत्मविश्वास र ऊर्जा दिन सञ्चारमाध्यम, क्रिकेट समर्थक तथा सम्बन्धित सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने कप्तान लामिछानेको भनाइ छ ।

‘नयाँ खेलाडी टिममा आउँदा उनीहरूलाई मनोवैज्ञानिक रूपमा थप ऊर्जा दिन सकियो भने त्यसले खेलाडी र राष्ट्रिय टोली दुवैलाई फाइदा गर्छ । राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्नु सानो कुरा होइन । यहाँसम्म आइपुग्न धेरै साहस चाहिन्छ र काँधमा ठूलो जिम्मेवारी हुन्छ’, उनले भने, ‘यहाँ आइसकेपछि को सानो, को ठूलो, को कुन खेलाडी भन्ने हुँदैन । हामी सबै जना नेपालको राष्ट्रिय टोलीका लागि खेलिरहेका छौँ । नेपालको लागि खेल्ने एउटै सपना हामी सबैको हो ।’ नेपाललाई आगामी विश्वकप क्वालिफायरसम्म पुर्‍याउने र त्यहाँ राम्रो प्रदर्शन गर्ने लक्ष्यमा टोली केन्द्रित रहेको कप्तान लामिछानेले बताए ।

त्यसका लागि सकारात्मक वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ । ‘हामी सबैको सपना भनेको टिमलाई विश्वकप क्वालिफायरमा पुर्याउने र त्यहाँ गएर राम्रो गर्ने हो । आगामी प्रतियोगितामा राम्रो गर्न सकारात्मक वातावरण आवश्यक हुन्छ । त्यो वातावरण निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो’, उनले भने ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले टोलीबाट आगामी खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको बताए । सचिव खड्काले टोलीलाई आगामी खेलका लागि शुभकामना दिँदै क्यानले आवश्यक अन्तरराष्ट्रिय क्रिकेट तथा घरेलु प्रतियोगिताको संरचना तयार गरिरहेको जानकारी दिए ।

‘एसियन कन्डिसनमा खेल्दै गर्दा समग्र नतिजा हेर्नुभन्दा पनि त्यो दिन टिम र खेलाडीले कसरी प्रेसर ह्यान्डल गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । नेपाल क्रिकेट सङ्घको तर्फबाट यहाँहरूलाई आगामी खेलका लागि सबैभन्दा राम्रो शुभकामना छ’, खड्काले भने।

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।