एसियाडमा नेपालको दुर्दशाबाट के शिक्षा लिने ?

एसियाडमा नेपालको दुर्दशाबाट के शिक्षा लिने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापानको नागोयामा आयोजित बीसौँ एसियाली खेलकुद एसियाडमा नेपालले हासिल गरेको परिणाम र नेपालका खेल अधिकारीहरूले गरेको अपेक्षामा ठूलो ठेस लागेको छ । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको ‘मिसन २०२६’को लक्ष्य अनुसार नेपाली खेल टोली एसियाडमा प्रतिस्पर्धाका लागि प्रस्थान गर्दा यसपटक नेपालले विगतको भन्दा ठूलो उपलब्धि हासिल गर्ने पूर्वानुमान गरिएको थियो ।

नेपालले एसियाडमा ७५ वर्ष लामो सहभागितामा पहिलोपटक स्वर्ण र दोहोरो अंकमा पदक जित्ने पूर्वउद्घोष २ कास्य पदकमा सीमित हुन पुगेको छ । नेपाली खेल टोलीले धेरै पदकको सपना देखे पनि लक्ष्य, तयारी तथा खेलाडीहरूको स्तरबिच तालमेल हुन नसकेको स्पष्ट देखियो । खेल अधिकारीहरूले पदकको आशा गरेका खेलाडीहरू समेत सफलता हात पार्न नसकेर खाली हात फर्किनु परेपछि नागोयाको सहभागिताबारे गम्भीर प्रश्न उठेको छ ।

तेन्जिङको आरोहण

विश्व मानचित्रमा मुलुकको नाम जाज्वल्यमान गराउने काममा हिमाल आरोही शेर्पाहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यसपालि एसियाडमा पनि १ शेर्पा खेलाडीले पहिलोपटक पदक जितेर पदक तालिकामा नेपालको नाम आरोहण गराउनु कम चुनौतीपूर्ण थिएन । नागोयामा सहभागी भएका नेपाली कराँते खेलाडीहरूमध्ये तेञ्जिङ शेर्पा मुलुकलाई पहिलो कास्य पदक दिलाउने भाग्यमानी बन्न पुगेका थिए । पहिलो खेलमै मकाउका प्रतिस्पर्धीले ४ पटक गल्ती गर्दै अयोग्य घोषित भएपछि तेञ्जिङले सोझै सेमी फाइनलमा पुग्ने अवसर पाएका थिए । पदक प्राप्तिको अत्यधिक अपेक्षा गरिएको कराँते खेलतर्फ चौथो दिनसम्म कुनै खेलाडीले पनि सफलता नपाइरहेको बेला शेर्पाले १ कास्य पदक पाएर मुलुकको इज्जत जोगाएका छन् ।

कुमुते तथा कातामा सहभागी अन्य ७ सहकर्मी पराजित भएर मैदानबाट बाहिइसकेको अवस्थामा कराँते खेलको अन्तिम दिन तेञ्जिङ इरानी खेलाडीसँग सेमिफाइनलमा हारे पनि तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लाओसका खेलाडीलाई विशाल अंकको अन्तरले हराएर कास्य पदकको हकदार बन्न पुगेका थिए । मुलुकमा बाढी र पहिरोको समस्याले सबै शोकमा रहेका बेला आफूले अलिकति भए पनि खुसीको सञ्चार गराउन सकेकामा पदक विजेता तेञ्जिङले सन्तोष व्यक्त गरेका छन् । स्वदेश फर्केपछि विमानस्थलमा उनले आफूले जितेको पदक जन्मदाता आमालाई लगाएर सम्मानित गरेको क्षण अनुकरणीय मान्न सकिन्छ ।

अर्को पदक पनि आमालाई

३ वर्षअघि चीनमा तथा यसपालि गरी एसियाडमा लगातार २ पटक कास्य पदक जितेको नेपाली महिला कबड्डी टीमका सदस्यहरूले आफूले हासिल गरेको पदक पनि आमाप्रति समर्पित गरेर मातृभक्ति दर्साएका छन् । नेपालको २ पटकको विजयमा महत्वपूर्ण भूमिका खेलेकी कबड्डी प्रशिक्षक पार्वती राईलाई खेलाडीहरूले आमा सम्बोधन गर्दै सबै पदक लगाएर सम्मान गरेको क्षण अत्यन्त गर्विलो थियो । नागोयामा विभिन्न खेलमा दिनहुँजसो नेपाली खेलाडीहरूको निराशाजनक नतिजा आइरहेको बेला मनमती विष्टको नेतृत्वमा रहेको नेपाली महिला कबड्डी टीमले एसियाडमा दोस्रोपटक कास्य पदक जितेर इतिहास कायम गर्न सफल भएको थियो । थाइल्याण्ड र श्रीलंकालाई दबाब दिँदै हराउन सफल नेपाली टीम चाइनिज ताइपेइसँग भने पराजित हुन पुगेको थियो ।

सेमिफाइनलमा नेपाली टीम भारतसँग पराजित भई कास्य पदकमा सीमित हुन पुगे पनि नेपाली महिला कबड्डीमा नेपालले आगामी दिनमा थप सफलता प्राप्त गर्न सक्ने संकेत देखिएको छ । महिला कबड्डीमा भारतीय टीम तुलनात्मक रूपमा अन्य टीमभन्दा बलियो मानिएको छ । नेपाली टीम भारतसँग पराजित भएको यो पहिलोपटक थिएन । अघिल्लो एसियाडमा पनि नेपाल सेमिफाइनलमा भारतसँगै हारेको थियो । १३औँ दक्षिण एसियाली खेलकुदको महिला कबड्डी फाइनलमा पनि नेपाल भारतसँग पराजित भई रजत पदकमा सीमित भएको थियो ।

यस्तै एसियाली महिला कबड्डी च्याम्पियनशिपमा पनि नेपाल भारतसँग पराजित हुँदै कास्य पदक लिएर स्वदेश फर्केको थियो । अब आउने प्रतिस्पर्धाहरूमा पुरानो प्रतिद्वन्द्वी टीमलाई परास्त गर्न सक्ने गरी महिला कबड्डी टीमलाई सक्षम बनाउन सम्बन्धित पक्षले यथोचित कदम चाल्नुपर्ने जरुरी देखिन्छ । यसका लागि सबैभन्दा पहिले कबड्डीका लागि छुट्टै कभर्ड हलको आवश्यकता महसूस गरिएको छ । एसियाडमा नेपालको महिला टीमको तुलनामा पुरुष कबड्डी टीम भने कमजोर देखिएको थियो । समूह चरणको अन्तिम खेलमा नेपाली पुरुष कबड्डी टीमले मलेसियालाई हराउँदै सान्त्वना जीत हात पारे पनि अघिल्लो तीनै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो । एसियाडको अनुभव भोलि आउने प्रतिस्पर्धाका लागि उपयोगी हुने कुरामा सहमत हुन सकिन्छ ।

आशा गरिएकाहरू चुकेपछि

कराँतेमा नेपालका ३ खेलाडी कास्य पदकको भिडन्त अवधिसम्म र अन्य ४ जना प्रारम्भिक चरणमा बाहिरिनु दुर्भाग्य रह्यो । एसियाडमा स्वर्ण पदकको अपेक्षा गरिएकी कराते खेलाडी एरिका गुरुङ भिडन्तमा २ सेकेण्ड टिक्न नसक्दा रित्तो हात फर्किनुपर्‍यो । अघिल्लो एसियाडमा रजत पदक जितेपछि लगातार विभिन्न वैदेशिक प्रतियोगितामा पदक जित्न सफल एरिका करिब ३ वर्षको प्रशिक्षणपछि उच्च मनोबलका साथ जापान गएकी थिइन् । उनले क्रमिक रूपमा हासिल गर्दै गएको सफलताको कारण उनीप्रति स्वर्ण पदकको अपेक्षा गरिएको थियो । उनलाई जित्नैपर्ने मनोवैज्ञानिक दबाब पनि थियो । पहिलो खेलमै जोर्डनकी यारा नासेरलाई १ अंकविरुद्ध ७ अंकको फराकिलो अन्तरले पराजित गरेर उनले राम्रो सम्भावनाको संकेत देखाएकी थिइन् तर दुर्भाग्य सेमिफाइनलको भिडन्त एरिकालाई विगतमा ३ पटक पराजित गरिसकेकी काजाकिस्तानकी सोफ्या बेरुत्सेभासँग हुन पुग्यो । उनीसँग एरिका पराजित हुन पुगिन् । गत एसियाडमा पनि एरिका उनैसँग हारेकी थिइन् । त्यसपछि २ पटक प्रिमियर लिग फाइनलमा पनि उनैको जीत भएको थियो । रिपिचेजबाट कास्य पदक जित्ने सम्भावना भए पनि एरिका साउदी अरेबियाकी खेलाडीसँग हारेपछि नेपालको पदकको सम्भावना गुमेको थियो ।

कराँते खेलाडी मीनबहादुर तामाङ हङकङ तथा ताजिकिस्तानका खेलाडीलाई हराउँदै सेमिफाइनलमा पुगेर पदकको सम्भावित दाबेदारका रूपमा प्रस्तुत गरेका थिए । तर उनी सेमिफाइनलमा कुवेत तथा कास्य पदकका लागि भएको खेलमा साउदी अरेबियाका खेलाडीसँग पराजित भएपछि पदकको सम्भावना रहेन । पहिलो चरणमा बाई पाएका राकेश मानन्धरले थाइल्याण्डका खेलाडीलाई भारी अंकको अन्तरले हराई क्वाटरफाइनल खेल जितेका थिए तर उनी सेमिफाइनलमा उज्वेकिस्तान र कास्य पदकका लागि भएको खेलमा मलेसियाका खेलाडीसँग हारेका थिए । निरुपा डोङ तामाङ प्रारम्भिक चरणमै हङकङकी खेलाडीसँग पराजित भएर बाहिरिएकी थिइन् । व्यक्तिगत कातामा सानुमाया थिङ दक्षिण कोरियाकी खेलाडीसँग पराजित भएर राउण्ड अफ १६ बाट बाहिरिएकी थिइन् । नेपाली महिला काता टीम पनि पदक हासिल गर्नबाट वञ्चित हुन पुगेपछि कराँतेमा थप पदक आउने सम्भावनाको अन्त्य भएको थियो ।

बक्सिङ खेलाडी चन्द्रबहादुर थापालाई पनि एसियाडमा स्वर्ण पदकको दाबेदारका रूपमै हेरिएको थियो । वर्ल्ड बक्सिङ च्याम्पियनशिपमा कास्य पदक जितेर नेपाली खेलाडीहरूमध्ये हालसम्मकै सर्वाधिक ७५ हजार डलर पुरस्कार पाएका खेलाडी थापासहित अन्य नेपाली पुरुष तथा महिला बक्सिङ खेलाडी पराजित भएपछि बक्सिङको सम्भावना पनि गुम्न पुगेको थियो । बक्सिङमा केही खेलाडी प्रारम्भिक तथा दोस्रो चरणसम्म पुगेका थिए । पदकको अपेक्षा गरिएको उसु खेलमा कुनै पनि नेपाली खेलाडीको उल्लेखनीय प्रदर्शन हुन सकेन । दोस्रोपटक एसियाडमा भाग लिएको नेपाली महिला भलिबल टीमले नागोयामा सहभागीहरूमध्ये १२औँ स्थान प्राप्त गर्‍यो । नेपालले खेलेका कूल ५ खेलमध्ये ४ खेलमा हारेको थियो भने १ खेल जितेको थियो । नेपाल जापान, हङकङ, इण्डोनेशिया र मङ्गोलियासँग लगातर सोझो सेटले पराजित भएको थियो भने नेपालले कीर्गिस्तानलाई लगातार सोझो सेटमा हराएको थियो । जुडोमा पनि ४ खेलाडी पहिलो चरणमै बाहिरिएका थिए । टेनिस डबल्समा नेपाली खेलाडी दोस्रो चरणसम्म पुगेका थिए ।

सफ्ट टेनिसको मिक्स्ड डबल्समा नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग हारे पनि दोस्रो मङ्गोलियालाई हराई समूहको उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको थियो तर त्यसपछि अघि बढ्न असफल भई नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । टेबुलटेनिसको मिक्स डबल्समा नेपालले पाकिस्तानलाई लगातार सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा पुगे पनि हङकङसँग हारेपछि घर फर्किनुपरेको थियो । ब्याडमिण्टनको पुरुष सिंङ्गल्समा नेपालका क्षितिज खनाल पहिलो चरणमा विजय बने पनि दोस्रो चरणमा इरानका खेलाडीसँग हार्न पुगे । महिला सिङ्गल्सतर्फ रिहाना शेरचन दोस्रो चरणमा पुगे पनि श्रीलंकाकी खेलाडीसँग पराजित भएपछि यात्रा टुंगिएको थियो ।

नेपालले हालसम्म सबैभन्दा धेरै १४ वटा पदक ल्याएको ताइक्वाण्डो खेलमा पछिल्लोपटक सन् २००६ मा पदक प्राप्त भएको थियो । २० वर्षपछि पनि नेपालले पदक जित्न नसकी प्रारम्भिक चरणमै प्रतियोगिताबाट बाहिरिनुपर्‍यो । अन्य केही खेलमा पनि नेपाली खेलाडीले प्रारम्भिक चरणमा राम्रो प्रदर्शन गरेर सुखद संकेत देखाए पनि अघिल्ला चरणमा बाहिरिनु नेपालका लागि दुर्भाग्य हुन गयो ।

नेपालका आर्चरी खेलाडी सबै प्रतिस्पर्धाबाट बाहिरिएको थियो । एथलेटिक्स, साईक्लिङ, गल्फ, स्केट बोर्डिङ, स्क्वास, कुस्ती लगायतका खेलमा पनि नेपाली खेलाडीहरूको प्रदर्शन सन्तोषजनक हुन सकेन । एसियाडमा प्रतियोगिताहरू समाप्त हुँदै गइरहेको समयमा नेपाली खेलाडीले क्यानोइङमा पदकको सम्भावना देखाए पनि सफलता भने हात लागेन । नेपालका विजय माझीले उत्कृष्ठ प्रदर्शन गर्दै पुरुष कायक सिङ्गल स्लालोमको फाइनल चरणसम्म पुग्दै १०औँ स्थान हासिल गरेका थिए । अर्का खेलाडी आशिष रानामगर सेमी फाइनल र कायक क्रसमा क्वाटरफाइनलसम्म पुगेका थिए ।

रित्तो हात फर्किनु परेन

नेपाली कराँते टीम एसियाडमा १ कास्य पदकमै सीमित भए तापनि जापानमै भएको ११औँ विश्व सितोरियो कराँते डो च्याम्पियनशिपमा ६ वटा पदक जितेर उत्साहित हुँदै स्वदेश फर्किनु सुखद संयोग मानिएको छ । प्रतियोगितामा चर्चित नेपाली कराते खेलाडी एरिका गुरुङले स्वर्ण पदक जितेपछि एसियाडले बनाएको निरासा फेरि खुसीमा परिणत गर्न सफलता प्राप्त गरेकी थिइन् ।

त्यस्तै राकेश मानन्धरले पनि स्वर्ण पदक जितेर जापानबाट पदक ल्याउन सपना पूरा गरेका थिए । प्रतियोगितामा नेपाली खेलाडी निरुपा डोङ तामाङले रजत पदक तथा मीनबहादुर तामाङले कास्य पदक पाएका थिए । नेपाली खेलाडीहरूले कुमितेतर्फ टीम प्रतिस्पर्धा तथा मेघा लिम्बु, सानुमाया थिङ र एलिशा रास्कोटी सम्मिलित काता टोलीले पाएको कास्य पदकबाट नेपाली कराँते टोलीलाई आगामी दिनमा अझ उत्साहका साथ प्रदर्शन गर्न ऊर्जा मिलेको महसूस गरिएको छ ।

नहार्दै बाहिरिँदाको पीडा

कुनै पनि खेलको निर्णय खेलपछि हुने जीत वा हारले गर्ने गर्दछ तर एसियाडमा खेल्दै नखेली विश्व वरियतामा अगाडि रहेका देश अघिल्लो चरणमा जान पाउने नियमले क्रिकेटमा भर्खंरै आफ्नो स्थान बनाउन प्रयास गरिरहेको नेपाल जस्तो मुलुकलाई समस्या परेको छ । एसियाडमा नेपाली क्रिकेट टोली कुनै खेलमा पराजित नभएता पनि प्रतियोगिताबाट बाहिरिनु परेकामा खेलाडीहरूका साथै नेपाल टोलीको हौसला बढाउन नागोयाको मैदानमै पुगेका खेलप्रेमीहरू निरास हुन पुगेका थिए ।

नेपाल र श्रीलंकाबिचको क्वाटरफाइनल वर्षाको कारण हुन नसकेर विश्व वरियताको आधारमा श्रीलंका सेमिफाइनलमा पुगेपछि नेपालको अघिल्लो यात्रा रोकिन पुग्यो । वर्षाको कारण प्रतियोगताका ४ वटै क्वाटरफाइनल हुन सकेका थिएनन् । खेलको निर्धारित समयमा पानी परे अर्को दिन खेलाएर नतिजा निर्धारण गर्नु पर्दथ्यो । नेपालले पहिलो खेलमा १२ वर्षपछि अफगानिस्तानलाई पराजित गर्न सफल भएको थियो । जापानसँग भएको दोस्रो खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाल समूह विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । टस नै नगरिएको अवस्थामा प्रतियोगिताबाट बाहिरिनु परेपछि नेपाल लगायतका एसोसिएट मुलुकले यस्तो अव्यावहारिक नियम खारेज गर्नका लागि सम्बन्धित निकायमा आवाज उठाउन जरुरी भएको छ ।

धेरै खेलमा किन पदक आएन ?

एसियाडमा भाग लिएका ४५ मुलुक तथा क्षेत्रका खेलाडीहरू पदक जित्ने लक्ष्यका साथ नै जापान गएका थिए । एसियाली मुलुकका तर्फबाट ओलम्पिक तथा विश्व च्याम्पियनशिपमा पदक जितेका कैयौँ खेलाडीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा नेपाली खेलाडीहरूले आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गरे । अपेक्षा गरेअनुसार पदक ल्याउन नसक्नुमा खेलाडीहरूको मात्र दोष छैन । आफ्ना खेलाडीहरूको क्षमतालाई एसियाली खेलकुदको स्तरसम्म लैजान यथेष्ट प्रयास हुन सकेन ।

नेपाली खेलकुद क्षेत्रमा संस्थागत विकास भएको ७ दशकभन्दा बढी भइसकेको छ तर तल्लो तहदेखि नै खेलकुद क्षेत्रमा आवश्यकता अनुसार लगानी हुन सकेको छैन । सानै उमेरदेखि खेलाडीलाई खेल कौशल सिकाएर दीर्घकालीन रुपमा प्रतिभाशाली खेलाडीहरू उत्पादन गर्ने नियमित प्रशिक्षणको नभएसम्म नेपाल वैदेशिक मैदानमा पछि परिरहनु कुनै नौलो मानिँदैन । अन्य राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरू तयार पार्न यथेष्ट लगानी नगरेसम्म पदक प्राप्त त्यति सहज छैन । यसपालि नेपालले २१ वटा खेलमा सहभागिता जनाउनु उचित थिएन । खेलाडीहरूको खेल प्रदर्शनको धरातलको आकलन नै नगरेर धेरै खेलमा प्रतिस्पर्धा गर्दा पराजय भोग्नुपर्‍यो । पदकको सम्भावना भएका खेलमा मात्र खेलाडी पठाइएको भए यस्तो स्थिति पक्कै आउँदैनथ्यो । विगतका प्रतियोगितामा प्रदर्शनको इतिहासका साथै पछिल्ला वर्षहरूमा स्वदेशी तथा वैदेशिक प्रतियोगितामा हासिल भएका उपलब्धिका आधारमा खेल चयन हुन सकेन ।

खेल संघहरूका पदाधिकारीहरूबिच आ–आफ्ना खेललाई जसरी पनि एसियाली खेलकुदमा समावेश गराउने होडमा अत्यधिक खेलमा भाग लिएको नतिजा मैदानमा निराशाजनक प्रदर्शनबाट देखियो । कतिपयले राष्ट्रिय खेलकुद परिषद् तथा सम्बन्धित खेलको उचित योजना तथा व्यवस्थापनको अभावलाई अर्को प्रमुख कारणको रूपमा लिएका छन् । यसमा सीमित बजेट, स्रोतको अस्थिरताको भूमिको साथै खेलाडीहरूको नियमित र दीर्घकालीन प्रशिक्षणको अभाव, अन्तरराष्ट्रिय प्रतियोगितामा अनुभवको कमी जस्ता कारणले पनि खेलाडीहरू उचित प्रदर्शन गर्नबाट चुकेको देखिन्छ ।

नेपालको प्रतिनिधित्व गर्दै २०० भन्दा बढी संख्यामा खेल टोली जापान पुगेर पनि २ वटा कास्य पदकमा चित्त बुझाउनुपर्ने स्थिति पक्कै सुखद होइन । दक्षिण एसियाकै मित्र राष्ट्र भुटानले जम्मा १३ जना मात्र खेलाडी पठाएको थियो । बाढीपहिरोको समस्यामा अल्झिरहेको नेपालबाट ठूलो टोलीलाई राज्यले गरेको लगानीबाट प्राप्त प्रतिफल सन्तोषजनक मान्न सकिँदैन ।

अबको बाटो

जापानबाट नेपाली खेल अधिकारीहरू स्वदेश फर्केपछि एसियाडमा नेपालको पराजय किन भयो विस्तृत रूपमा समीक्षा गर्नु अत्यन्त जरुरी मानिएको छ । नेपाल कुन खेलमा के कस्ता कमजोरीले गर्दा पराजित हुनुपर्‍यो भन्नेबारे खेल प्रशिक्षक तथा खेलाडीहरूको अनुभवबाट पनि जानकारी लिनुपर्छ । यस्तो समीक्षाबाट आएका निचोडलाई आगामी वैदेशिक प्रतियोगिताहरूमा सुधारका लागि प्रयोग गर्न सके विदेशी भूमिमा लज्जाजनक रूपमा पराजय भोग्नुपर्ने स्थिति रहँदैन । ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदजस्ता आधिकारिक खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने अबको बाटो भनेको प्राथमिकताका खेलमा केन्द्रित लगानी गर्नु हो । यसका लागि प्रतिभा चयन गरेर योग्य प्रशिक्षकमार्फत उनीहरूलाई निश्चित अवधि तोकेर दीर्घकालीन प्रशिक्षण दिन ढिलो गर्नु हुन्न । खेल विज्ञानलाई प्रशिक्षणको मूल आधार बनाइनुपर्छ । खेलाडीहरूको नियमित प्रदर्शनको अवस्थाबारे सम्बन्धित निकायबाट निगरानी भइरहनुपर्ने आवश्यकता पनि देखिएको छ ।

नागोयामा नेपालले प्राप्त गरेको परिणामलाई प्रतियोगिता भएको असफलताका रूपमा मात्र हेर्नुभन्दा समग्र रूपमा नेपाली खेलकुद प्रणालीको वर्तमान अवस्थाका रूपमा हेर्न सकिन्छ । अब ६ महिनापछि नै पाकिस्तानमा हुने दक्षिण एसियाली खेलकुद, सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिक तथा सन् २०३० मा कतारमा हुने एसियाडमा नेपालको पदक आउने आधार बनाउन सरकारले बृहत मिसनको नेतृत्व लिनुपर्ने हुन्छ । राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी तथा सम्बन्धित खेल संघ आपसी विवादमा नअल्मलिई वर्षैभरि बृहत् खेलकुद प्रशिक्षण मिसन सञ्चालन गर्न एकैसाथ जुट्नुपर्छ । नागोया एसियाडमा नेपाली खेलाडीहरूले पदक प्राप्तिका लागि अनुभव गरेका कठिन बाटोलाई कसरी सहज बनाउन सकिन्छ, त्यहीँ नै अबको नेपाली खेलकुद जगत्को प्रमुख अभियान हुन सक्दछ । (रासस)