काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मध्यपूर्व (खाडी क्षेत्र) बाट केन्द्रीय सदस्य पदमा खेमराज बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका बस्नेतले नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनमा निरन्तर सक्रिय रहँदै आएको बताएका छन्।
सन् २००४ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यवसाय तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेका बस्नेतले प्रवासमा रहेर पनि नेपाली कांग्रेसको संगठन निर्माण र विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको दाबी गरेका छन्।
उनले नेपाली जनसम्पर्क समिति यूएईको स्थापना, संगठन विस्तार तथा संस्थागत विकासमा भूमिका निर्वाह गरेको उल्लेख गर्दै संस्थापक उपसभापति र सभापतिको जिम्मेवारीसमेत सम्हालेको बताएका छन्।
बस्नेत गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्।
उनले प्रवासमा हासिल गरेको राजनीतिक, सामाजिक तथा सांगठनिक अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।
बस्नेतले आफ्नो उम्मेदवारीसँगै प्रवासमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकको आवाज पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, देशभित्र र प्रवासमा रहेका कांग्रेसजनबीच एकता, सहकार्य र समन्वय सुदृढ गर्ने, नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा प्रवासी नेपालीले पुर्याएको योगदानको सम्मान र पहिचानका लागि पार्टीभित्र प्रभावकारी भूमिका खेल्ने उनको प्रतिबद्धता छ।
बस्नेतले बीपी कोइरालाले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात् गर्दै कांग्रेसको लोकतान्त्रिक संस्कार र संस्थागत विकासमा योगदान गर्ने बताएका छन्।
प्रवासमा रहेका युवा, उद्यमी, व्यवसायी तथा नयाँ पुस्तालाई कांग्रेसको संगठन र नेतृत्वमा अर्थपूर्ण सहभागिताका लागि प्रोत्साहित गर्ने पनि उनको प्रतिबद्धता छ।
‘राजनीति पद प्राप्त गर्ने माध्यम मात्र नभई विचार, निष्ठा, त्याग, सेवा र जिम्मेवारीको निरन्तर यात्रा हो,’ उम्मेदवारी घोषणा गर्दै बस्नेतले भनेका छन्।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि प्रवासी नेपाली कांग्रेसजनको प्रतिनिधित्व, सम्मान र सहभागितासँग जोडेर हेर्न आग्रह गरेका छन्।
बस्नेतले ‘प्रवासको आवाज, कांग्रेसको मूलधार’ भन्ने नारासहित एकता, सहकार्य, संगठन, समावेशी नेतृत्व र परिवर्तनलाई आफ्नो उम्मेदवारीका आधार बनाएका छन्।




प्रतिक्रिया