काठमाण्डु- नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङमार्फत दिएको जानकारीअनुसार संशोधित विधानमा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको छ।
विधानअनुसार केन्द्रीय कार्यसमितिमा सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चारजना रहनेछन्। चार उपसभापतिमध्ये एकजना महिला अनिवार्य गरिएको छ।
त्यस्तै महामन्त्री तीनजना रहने व्यवस्था गरिएको छ। तीनमध्ये एकजना महिला अनिवार्य गरिएको छ। सह-महामन्त्रीको संख्या १५ पुर्याइएको छ। कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एक जना चयन हुनेछन्।
प्रवक्ता एक जना रहनेछन् भने सहप्रवक्ताको पनि व्यवस्था गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ जना र खुला महिलाबाट १५ जना निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य रहनेछन्।
समावेशीतर्फ दलितबाट पाँच महिलासहित १४ जना, आदिवासी जनजातिबाट आठ महिलासहित २० जना र खस आर्यबाट आठ महिलासहित १८ जना केन्द्रीय सदस्य रहनेछन्।
त्यस्तै मधेसीतर्फ पाँच महिलासहित १३ जना, जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना, पिछडिएको वर्गबाट तीन जना, थारूतर्फ दुई महिलासहित छ जना र श्रमिकतर्फ एक महिलासहित तीन जना रहनेछन्।
पेशागत विज्ञबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य रहनेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
यसैगरी केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनित गर्नेछ। विधान सोमबार नै पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबार बस्ने बन्द सत्रले पारित गर्नेछ।
मंगलबार बिहान १० बजेदेखि महाधिवेशनमा उम्मेदवारको मनोनयन प्रक्रिया सुरु हुने भएकाले निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन विधान सोमबार नै पारित गरिएको कांग्रेसले जनाएको छ।




प्रतिक्रिया