‘धम्की’पछि बेलायतबाट अमेरिकी बमवर्षक विमान फिर्ता ल्याइयाे : डोनाल्ड ट्रम्प

‘धम्की’पछि बेलायतबाट अमेरिकी बमवर्षक विमान फिर्ता ल्याइयाे : डोनाल्ड ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतस्थित आरएएफ फेयरफोर्ड हवाई आधारमा आएको केही धम्कीका कारण त्यहाँ रहेका अमेरिकी बमवर्षक विमानहरू हटाइएको बताएका छन्।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले आइतबार फेयरफोर्डमा रहेका करिब एक दर्जन बी–१ बमवर्षक विमानलाई अमेरिकास्थित उनीहरूका मुख्य हवाई अड्डामा फिर्ता लगिएको पुष्टि गरेको थियो।

सोमबार नेब्रास्का प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आधारमा धम्की आएको जानकारी पाएपछि विमानहरू स्थानान्तरण गरिएको बताए।

‘उनीहरू संयोगवश त्यहाँबाट उडेका होइनन्। केही धम्कीहरू थिए,’ ट्रम्पले भने। उनका अनुसार शत्रुलाई उक्साउनुभन्दा विमानहरूलाई केही समयका लागि अन्यत्र सार्नु उचित ठानिएको हो।

ट्रम्पले अमेरिकालाई धम्की दिने व्यक्तिहरूको पहिचानबारे जानकारी रहेको दाबी गरे पनि उनीहरू को हुन् भन्ने खुलाएनन्।

यसअघि सेप्टेम्बर २७ मा आरएएफ फेयरफोर्डनजिकै तीनवटा शंकास्पद सवारीसाधन देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यस घटनापछि अमेरिकी बमवर्षक विमान हटाइएको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

बेलायती प्रधानमन्त्रीको कार्यालयले भने सोमबार आरएएफ फेयरफोर्ड सुरक्षित रहेको जनाएको थियो।

बमवर्षक विमान हटाउन बाध्य बनाउने धम्कीको वास्तविक प्रकृति भने अझै स्पष्ट भएको छैन। वासिङ्टनस्थित स्रोतहरूले यो घटना तोडफोडको प्रयास वा इरानसँग पुनः द्वन्द्व सुरु भएको अवस्थामा विमानमाथि आक्रमण गर्ने सम्भावित प्रयाससँग सम्बन्धित हुन सक्ने अनुमान गरेका छन्।