काठमाण्डु– अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १५३औँ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
सभामुख डोलप्रसाद (डीपीं अर्यालको नेतृत्वमा रहेको नेपाली टोलीले चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका विषयमा छलफल गरेको हो।
भेटवार्तामा नेपाल–चीनबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्ने तथा दुई देशका संसद्बीचको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
सो अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गरे । उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभयो।
नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्ने प्रयासमा चीनले गर्दै आएको सहयोगको प्रशंसा गर्दै सभामुख अर्यालले विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
हालै रसुवामा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले घटनामा बेपत्ता चिनियाँ नागरिकका परिवारप्रति समवेदना प्रकट गरे। विपद्का समयमा चीन सरकारले उपलब्ध गराएको आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारसम्बन्धी सहयोगका लागि पनि उनले धन्यवाद दिए।
चीनले सुरुङ उद्धार तथा फरेन्सिक र डीएनए विशेषज्ञ टोलीसँगै ड्रोनलगायत आवश्यक उपकरण उपलब्ध गराएको थियो।
सभामुख अर्यालले नेपाल र चीनबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले दुई देशका संसद्बीचको आदानप्रदान, सहकार्य र आपसी समझदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।




प्रतिक्रिया