किशोरसिंहको गुनासो- सभापतिमा गगनसँग भिड्ने भनेपछि मेरै क्षेत्रमा प्रतिनिधिको विवाद र किचलो झिकियो

किशोरसिंहको गुनासो- सभापतिमा गगनसँग भिड्ने भनेपछि मेरै क्षेत्रमा प्रतिनिधिको विवाद र किचलो झिकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापतिमा उम्मेदवारी दिने भनेपछि आफ्नो निर्वाचन क्षेत्रमा अनावश्यक किचलो झिकिएको बताएका छन्।

उनले आफूलाई छेक्न बर्दियास्थित आफ्नो निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अनावश्यक रूपमा लम्ब्याइएको आरोप पनि मंगलबार लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सभापतिको उम्मेदवारी घोषणा गर्दै राठौरले आफ्नो क्षेत्रमा कुनै विवाद नरहेको अवस्थामा पनि प्रतिनिधि छनोट प्रक्रिया जबरजस्ती लम्ब्याइएको दाबी गरे।

‘यहाँ केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयन चल्दै छ, तर मेरो क्षेत्रमा कुनै विवाद थिएन, जबरजस्ती लम्ब्याइयो र मलाई प्रतिनिधि निर्वाचित हुन नै धेरै समय कुर्नुपर्ने बनाइयो,’ उनले भने, ‘मेरो क्षेत्रमा आज मतगणना चलिरहेको छ । अझै म प्रतिनिधि भइसकेको छैन।’

राठौरले आफूले सभापतिमा उठ्ने घोषणा गरेपछि नै आफ्नो क्षेत्रमा विवाद र किचलो झिकिएको आरोप लगाए।

उनले कांग्रेसलाई सबै पुस्ता र समूह अटाउने साझा पार्टीका रूपमा अघि बढाउनुपर्ने बताए। नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भइसकेको उल्लेख गर्दै उनले पार्टी निर्माणमा योगदान गरेका पुराना पुस्तादेखि वर्तमान पुस्तासम्म सबैलाई समेट्नुपर्ने धारणा राखे।

‘सबै अट्ने, अहिलेको जेनेरेसनदेखि पुराना, जो यो पार्टीमा लगानी गर्नुभएको छ, सबैलाई अटाउने र सबैलाई मिलाएर अघि बढ्ने अवस्था बनाउनुपर्छ,’ उनले भने।

राठौरले कांग्रेसभित्र बृहत् एकता आवश्यक रहेको बताउँदै पार्टीको इतिहास र राजनीतिक विरासत बोकेका परिवारलाई पाखा लगाएर कांग्रेस अघि बढ्न नसक्ने दाबी गरे।

‘बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमानको छोरा नअट्ने कांग्रेस हुन सक्दैन। नोनाआमाको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा नअट्ने कांग्रेस हुन सक्दैन,’ उनले भने।

राठौरले कांग्रेस एकढिक्का नभएसम्म आफूहरूले चाहेजस्तो पार्टी निर्माण गर्न नसकिने बताए। कांग्रेसका नेता-कार्यकर्ताले ‘यो मेरो कांग्रेस हो, मेरो पार्टी हो, हाम्रो पार्टी हो’ भन्ने अनुभूति गर्ने वातावरण बनाउन आफू लाग्ने उनको भनाइ थियो।

राठौरले आफू सभापतिमा निर्वाचित भए कांग्रेसलाई त्याग, बलिदान र संघर्षको पुरानो बाटोमा फर्काउने दाबी गरे। आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताउँदै उनले पार्टीभित्र विवाद बढाउनेभन्दा सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा राखे।

‘मैले गगनजीलाई प्रस्ताव पनि पठाएको थिएँ, भावी प्रधानमन्त्री घोषणा गरेर जाऔँ । नेताहरू खेदिएका बेला, पार्टीविरुद्ध सबैले घेराबन्दी गरेका बेला विशेष महाधिवेशन गरेर विवाद नबढाऔँ भनेकै हुँ,’ उनले भने।

राठौरले कांग्रेस अहिले तीन-चारतिर छरिएको दाबी गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए।

उनले पार्टीका ऐतिहासिक नेताका परिवारलाई बाहिर राखेर गरिने महाधिवेशनको प्रभाव आगामी स्थानीय तह निर्वाचनमा देखिने चेतावनीसमेत दिए।

‘उनीहरूलाई बाहिर राखेर जुन महाधिवेशन गर्न खोजिँदै छ, त्यसको परिणाम आगामी स्थानीय तह चुनावमा पाँच महिनामै देखिन थाल्नेछ,’ राठौरले भने।