सभापतिका दावेदार राठौर बर्दिया-२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित

सभापतिका दावेदार राठौर बर्दिया-२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह राठौर बर्दिया-२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

राठौरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत गोपाल पोखरेलका अनुसार राठौरसँगै उनको समूहका सबै उम्मेदवार विजयी भएका छन्।

बर्दिया-२ बाट पूर्वमन्त्री गोपाल दहितले ४५५ मत प्राप्त गरेका छन्। सबैभन्दा बढी मत लुम्बिनी प्रदेशका पूर्वमन्त्री जन्मजय तिमिल्सिनाले ७२७ मत प्राप्त गरेका छन्।

बर्दिया-२ मा कुल १ हजार १५६ मतदाता रहेकामा १ हजार ११३ जनाले मतदान गरेका थिए। ३३ जना महाधिवेशन प्रतिनिधिका लागि ५५ जनाले उम्मेदवारी दिएका थिए।

क्षेत्र नम्बर २ (क) र (ख) को मतदान तथा मतगणना मधुवन नगरपालिका–४ स्थित कभर्डहलमा भएको थियो। यस क्षेत्रमा मधुवन र ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिका पर्छन्।

राठौरले मंगलबार कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै आफ्नो निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अनावश्यक रूपमा लम्ब्याइएको आरोप लगाएका थिए।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि आफ्नो क्षेत्रको निर्वाचनमा विवाद र किचलो झिकिएको दाबी गरेका थिए।

‘यहाँ केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयन चल्दै छ, तर मेरो क्षेत्रमा कुनै विवाद थिएन, जबरजस्ती लम्ब्याइयो र मलाई प्रतिनिधि निर्वाचित हुन नै धेरै समय कुर्नुपर्ने बनाइयो,’ उनले भनेका थिए, ‘मेरो क्षेत्रमा आज मतगणना चलिरहेको छ । अझै म प्रतिनिधि भइसकेको छैन।’

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि अब राठौरको सभापति उम्मेदवारीका लागि प्रतिनिधित्वसम्बन्धी बाधा हटेको छ।

सभापतिको उम्मेदवारी घोषणा गर्दै राठौरले कांग्रेसलाई सबै पुस्ता र समूह अटाउने साझा पार्टीका रूपमा अघि बढाउनुपर्ने बताएका थिए। पार्टीमा योगदान गरेका पुराना पुस्तादेखि नयाँ पुस्तासम्म सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘सबै अट्ने, अहिलेको जेनेरेसनदेखि पुराना, जो यो पार्टीमा लगानी गर्नुभएको छ, सबैलाई अटाउने र सबैलाई मिलाएर अघि बढ्ने अवस्था बनाउनुपर्छ,’ उनले भनेका थिए।

राठौरले कांग्रेसभित्र बृहत् एकता आवश्यक रहेको बताउँदै पार्टीको राजनीतिक विरासत बोकेका परिवारलाई पाखा लगाएर कांग्रेस अघि बढ्न नसक्ने दाबीसमेत गरेका थिए।

‘बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमानको छोरा नअट्ने कांग्रेस हुन सक्दैन। नोनाआमाको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा नअट्ने कांग्रेस हुन सक्दैन,’ उनले भनेका थिए।