काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि काठमाण्डुका श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका छन्।
खड्कीले मंगलबार कांग्रेस सभापति गगनकुमार थापालाई चुनौती दिँदै नेतृत्वका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनले यसअघि सोमबार नै सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
खड्की काठमाण्डु क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि भएका थिए ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ।
सभापति पदमा थापा र खड्कीसहित पूर्वसह-महामन्त्री किशोरसिंह राठौरले पनि उम्मेदवारी घोषणा गरेका छन्। राठौरले मंगलबार नै सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए। उनी बर्दिया २ बाट मंगलबार महाधिवेशन प्रतिनिधि बनिसकेका छन्।
खड्कीले सोमबार खुलामञ्चस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनमार्फत सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।




प्रतिक्रिया