एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट हुँदै, नेपाली संघसंस्थाको ऐक्यबद्धता

एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट हुँदै, नेपाली संघसंस्थाको ऐक्यबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एडिलेड, साउथ अस्ट्रेलिया- आगामी मार्चमा एडिलेडमा आयोजना हुने सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) साउथ अस्ट्रेलिया २०२७ को तयारी तीव्र पारिएको छ।

प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित प्रेस मिटमा हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमार्फत तयारीमा खटिएको र खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको जानकारी दिइएको छ।

सन् २०२७ मार्च २५ देखि २८ सम्म चार दिन आयोजना हुने प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न राज्य तथा न्युजिल्यान्डमा रहेका नेपालीमूलका खेलाडी, पदाधिकारी, समर्थक तथा समुदायका सदस्यको सहभागिता रहने अपेक्षा गरिएको छ।

सातौँ ओएनएसएम सफल बनाउन साउथ अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक तथा खेलकुद संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्।

प्रतियोगितामा क्रिकेट, जुनियर क्रिकेट, फुटबल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, स्विमिङ तथा ट्र्याक एन्ड फिल्ड गरी ११ खेल समावेश गरिएको छ।

प्रेस मिटमा साउथ अस्ट्रेलियाका सामुदायिक अगुवा, विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, खेलाडी, प्रायोजक र सञ्चारकर्मीको सहभागिता थियो। अस्ट्रेलियाका विभिन्न राज्यबाट नेपाली पत्रकार तथा सञ्चारकर्मीहरू अनलाइनमार्फत कार्यक्रममा जोडिएका थिए।

आयोजकका अनुसार प्रतियोगिताको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ। ती उपसमितिमार्फत १७० भन्दा बढी स्वयंसेवक तयारीमा परिचालित छन्। खेलाडी दर्ता प्रक्रिया प्रेस मिटको अघिल्लो दिनदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

सातौँ ओएनएसएमका लागि आयोजकले अस्ट्रेलियाको पहिचानसँग जोडिएको ‘कोआला’लाई प्रतियोगिताको मस्कट सार्वजनिक गरेको छ।

कार्यक्रमको सुरुवातमा ओएनएसएम एसए २०२७ का सहसंयोजक सन्तोष अधिकारीले स्वागत मन्तव्य राख्दै प्रतियोगिताको तयारी र उद्देश्यबारे जानकारी दिएका थिए। उनले प्रतियोगिता सफल बनाउन समुदायबाट प्राप्त भइरहेको साथ र सहकार्यप्रति धन्यवाद व्यक्त गरे।

ओएनएसएमको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज एडिलेडका निर्देशक रूपक बर्तौलाले समुदायबाट प्राप्त साथ र विश्वासलाई समुदायमै फर्काउने ‘गिभिङ ब्याक टु कम्युनिटी’ अवधारणाअनुसार प्रतियोगितालाई प्रायोजन गरिएको बताए।

‘नेपाली समुदायलाई खेलकुदमार्फत जोड्ने ठूलो कार्यक्रममा सहकार्य गर्न पाउनु महत्वपूर्ण हो,’ उनले भने।

‘यो खेल मात्र होइन, नेपाली समुदायको उत्सव हो’

ओएनएसएम एसए २०२७ का अध्यक्ष विजय जोशीले सातौँ संस्करणलाई खेलकुद प्रतियोगितामा मात्र सीमित नगरी नेपाली समुदायको साझा उत्सवका रूपमा मनाउन आग्रह गरे।

जोशीले प्रतियोगिताको तयारी, हालसम्म भएका काम, विभिन्न उपसमितिको भूमिका तथा आगामी योजनाबारे जानकारी दिँदै स्वयंसेवक, प्रायोजक, सहयोगी संघसंस्था र समुदायको सामूहिक प्रयासबाट प्रतियोगिता सफल हुने बताए।

उनले साउथ अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई प्रतियोगितामा सहभागी भएर यसलाई साझा उत्सवका रूपमा मनाउन आग्रह गरे।

‘नेपाल मेरो दोस्रो घर’

सातौँ ओएनएसएमकी इभेन्ट एम्बासडर तथा अस्ट्रेलियाकी चर्चित प्यारालिम्पियन क्याट्रिना वेब ओएएमले आफूलाई सामुदायिक खेलकुदको यस्तो कार्यक्रममा जोड्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिइन्।

वेबले नेपाललाई आफ्नो ‘दोस्रो घर’का रूपमा उल्लेख गर्दै खेलकुदमार्फत समुदायलाई जोड्ने ओएनएसएमको अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन्।

उनी सन् २०११ देखि नेपाल भ्रमण गर्दै आएकी छन्। आगामी अक्टोबरमा उनी १८औँ पटक नेपाल भ्रमणमा जाने तयारीमा रहेको कार्यक्रममा जानकारी दिइएको छ।