एआईलाई विकास र रोजगारीसँग जोड्ने आजपाको अभियान, देशभर ‘एआई एलायन्स’ विस्तार

एआईलाई विकास र रोजगारीसँग जोड्ने आजपाको अभियान, देशभर ‘एआई एलायन्स’ विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आम जनता पार्टी (आजपा)ले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ज्ञान, सीप र प्रविधिको प्रयोगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले ‘एआई एलाइन्स’ गठन गरेको छ।

आजपाको जनवर्गीय संगठन विशेष कमिटीको काठमाडौंको अनामनगरमा बसेको बैठकले एआई एलाइन्स गठन गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको हो।

कमिटीका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा बसेको बैठकले एआईसम्बन्धी गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको आजपा प्रवक्ता सुभाष साहले जानकारी दिए।

उनका अनुसार एआई एलाइन्सको इन्चार्जमा विजय यादव, सहइन्चार्जमा प्रिन्स साह र संगठन संयोजकमा साइमन साहलाई जिम्मेवारी दिइएको छ।

बैठकमा सहभागी आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले एआईको तीव्र विकास र यसले समाज तथा अर्थतन्त्रमा पार्न थालेको प्रभावबारे धारणा राखेका थिए।

उनले एआई अब सूचना प्रविधिमा मात्र सीमित नरहेको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सञ्चार, व्यापार, प्रशासन तथा रोजगारीका क्षेत्रमा समेत यसको प्रत्यक्ष प्रभाव बढिरहेको बताए।

विश्वका विकसित मुलुकहरू एआईको विकास र प्रयोगमा तीव्र गतिमा अघि बढिरहेका बेला नेपालले पनि यसको सम्भावना पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने उनले बताए।

एआईको ज्ञान र प्रविधिबाट नेपालले लाभ लिन नसके प्रविधिको क्षेत्रमा थप पछाडि पर्ने जोखिम रहेको भन्दै उनले यसको अध्ययन, प्रयोग र जनचेतनालाई प्राथमिकता दिनुपर्ने बताए।

एलाइन्सले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गरी एआईसम्बन्धी प्रशिक्षण, अभिमुखीकरण, अन्तरक्रिया तथा कार्यशाला सञ्चालन गर्ने तयारी गरेको छ।

एआईको प्रयोगमार्फत रोजगारी तथा स्वरोजगार सिर्जना, डिजिटल उद्यमशीलता प्रवर्द्धन र प्रविधिमा आधारित नवप्रवर्तनलाई प्राथमिकता दिइने जनाइएको छ।

त्यस्तै कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार तथा सार्वजनिक सेवामा एआईको व्यावहारिक प्रयोगको सम्भावना पहिचान गरी अध्ययन तथा बहस अघि बढाउने योजना एलाइन्सको छ।

किसानलाई कृषि सूचना तथा बजार विश्लेषणमा एआईको प्रयोगबारे जानकारी गराउने तथा विद्यार्थी र युवालाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक क्षेत्रमा एआईको जिम्मेवार प्रयोगतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ।

एआईबाट उत्पन्न हुन सक्ने चुनौतीबारे पनि जनचेतना अभिवृद्धि गरिने आजपाले जनाएको छ। गलत सूचना, डीपफेक, व्यक्तिगत गोपनीयता, साइबर सुरक्षा, रोजगारीमा पर्न सक्ने प्रभाव तथा एआईको दुरुपयोगजस्ता विषयमा सार्वजनिक बहस आवश्यक रहेको आजपाको भनाइ छ।

एआईलाई प्रविधि विज्ञमा मात्र सीमित नराखी आम नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्यसहित प्रदेशदेखि स्थानीय तहसम्म एआईमा रुचि राख्ने युवा, विद्यार्थी, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीलाई संगठित गरिने आजपाले जनाएको छ।

आजपाले एआईलाई भविष्यको मात्र नभई वर्तमानकै महत्वपूर्ण प्रविधिका रूपमा लिँदै यसको ज्ञान, सीप र प्रयोगलाई राष्ट्रिय विकास, रोजगारी सिर्जना तथा आर्थिक रूपान्तरणसँग जोड्ने अभियानका रूपमा एआई एलाइन्सलाई अघि बढाउने जनाएको छ।