दुबई- उल्लासमय वातावरण, फरक–फरक पृष्ठभूमिका मग्नमस्त दर्शक, लामो समयदेखि मन पराइएका गीत र सबैलाई बाँध्ने नेपालीपन। दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ।
‘संसार अटाएको व्यस्ततम् सहरमा नेपाली आयोजना यति भव्य रूपमा सम्पन्न भएकामा हाम्रो टिम एकदमै सन्तुष्ट छ,’ कन्सर्टपछि आयोजक इजी ग्रुपका श्री लामिछानेले प्रतिक्रिया दिए, ‘कार्यक्रमको प्रस्तुति, प्राविधिक संयोजन र दर्शक सहभागिता सबै हिसाबले दुबईमा हुने नेपाली कार्यक्रमका लागि यो नयाँ मानक भएको छ।’
आइस हक्की खेलिने कबर्ड हलमा यसअघि कन्सर्ट गर्दै आएको ब्यान्डले यसपटक पहिलोपटक इन्टरनेट सिटीस्थित ‘द एजेन्डा’ रोजेको थियो।
‘नेपथ्यको सानदार प्रस्तुतिले यो वर्ष हाम्रो इभेन्ट सिजनको सुरुवात नै भव्य भयो,’ द एजेन्डा हलको प्रोडक्सन डिपार्टमेन्टका प्रमुख साहबाज ओमरले भने, ‘स्वयं ब्यान्डकै पनि हामीबाट थप अपेक्षा भए फेरि स्वागत गर्न इच्छुक छौँ।’
यहाँस्थित मणिपाल युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेसन अध्ययनरत दर्शक वन्दना थापा कार्यक्रमपछि भन्दै थिइन्, ‘नेपथ्यको कन्सर्ट हेर्नु सङ्गीतको आनन्द लिनु मात्र नभई सिङ्गो नेपाल र नेपालीपनकै उत्सव मनाउनु जस्तो हुन्छ। जसको सम्झना बाँचुन्जेल रमाइलो बनेर मनमा बस्छ।’
वन्दनाजस्ता दर्शकको भावनालाई थप सम्मान गर्न पछिल्लो समय स्थानीय आयोजकले कन्सर्टसँग विभिन्न गतिविधि पनि जोड्न थालेका छन्।
यसपटक त्यस्तो गतिविधिको केन्द्रमा रहे पाकिस्तानको लाहोरबाट दुबई आएका तन्नेरी आतिफ असलम।
स्थानीय आयोजकले कन्सर्टअघि दुबईका दर्शकमाझ नेपथ्यका गीत आफ्नो स्वरमा रेकर्ड गरेर पठाउने प्रतिस्पर्धा चलाएका थिए। त्यसमा आतिफले ‘रातो र चन्द्रसुर्जे’ गीत प्रस्तुत गरेर पुरस्कार जिते।
उनले टिकटकमा राखेको उक्त गीत अहिलेसम्म करिब ३५ हजारले हेरेका छन् भने पाँच हजारले लाइक गरेका छन्। यही सफलताबापत उनले नेपथ्यको कन्सर्ट हेर्ने मात्र नभई ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङसँग व्यक्तिगत रूपमा भेटघाट गर्ने अवसर पनि पाए।

गुरुङसँगको भेटघाटको क्षण पनि उनले टिकटकमा राखिसकेका छन्, जसलाई १२ घण्टाभित्रै १७ सय जनाले लाइक गरिसकेको देखिन्छ। त्यसमा उनले लेखेका छन्, ‘नेपालके पहाडोंसे पाकिस्तानके वादियोंतक, दोस्तीका एक नयाँ नगमा।’
‘मञ्चबाट यति धेरै ऊर्जा प्रवाह गराउने कन्सर्ट मैले आजसम्मै अनुभव गरेको थिइनँ,’ आफ्ना गीतहरू टिकटकमा राख्दै आएका र केही समययता नेपथ्यका गीत पनि सुन्न थालेका आतिफले कन्सर्टपछि प्रतिक्रिया दिए, ‘अमृत गुरुङको प्रशंसा सायद मेरा शब्दले मात्र सम्भव नहोला।’
दुबई कन्सर्टको राप र ताप सुरुवातदेखि अन्त्यसम्मै देखिन्थ्यो। घडीले निर्धारित समय जनाउनासाथ दर्शकले भरिएको हलमा प्रवेश गरेका गायक अमृतले पहिलो गीत ‘कोशीको पानी’ गाउन सुरु गरे। त्यसपछि सुरु भएको दर्शकको उत्साह र जोस अन्तिम गीत ‘रातो र चन्द्रसुर्जे’ सम्मै कायम रह्यो।
त्यसबीच अमृतले आफ्ना धारणामार्फत समेत दर्शकलाई नेपालसँग जोड्ने प्रयत्न गरिरहे। प्रकृतिले हिमाल, पहाड र उर्वर तराई दिएको धनी देश भएर पनि मरुभूमिमा परिश्रम गर्न आउनुपरेका नेपालीको बाध्यताप्रति उनले बारम्बार थकथकी माने। त्यसैगरी आफ्नो मातृभूमिलाई परेको बेला मनले जति इच्छा हुन्छ, त्यति सहयोग गर्न पनि उनले अभिप्रेरित गरे।
‘कन्सर्टबाट जति अपेक्षा गरेको थिएँ, त्योभन्दा निकै बढी सन्तुष्टि महसुस गर्दै छु,’ अर्की दर्शक सुर्जना कार्कीले भनिन्, ‘पहिलोपटक नेपथ्यको दर्शक बनिरहँदा गीतसँगसँगै नेपालीपनको पनि यति आनन्द लिन पाइन्छ भन्ने सोचेकी थिइनँ।’
कन्सर्टमा अन्य इमिरेट्स, विशेषगरी आबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य सङ्ख्यामा उपस्थित भएका थिए।
‘चार वर्ष र सात वर्ष पहिले दुबईमा आयोजना भएका कन्सर्ट हेर्न पनि यसै गरी आएकी थिएँ,’ आबुधाबीबाट सात जना साथीको समूह बनाएर उपस्थित भक्तपुर सूर्यविनायककी ब्युटिसियन कोपिला तामाङले भनिन्, ‘सधैँजस्तै म मात्र होइन, हामी सबै साथी नेपथ्य अनुभव गरेर असाध्यै रमाएका छौँ।’









प्रतिक्रिया