काठमाण्डु – दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सरोकारवालाको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।
उनका अनुसार सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनका क्रममा यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिइने व्यवस्था मिलाइनेछ ।
दसैँमा ठूलो संख्यामा यात्रु राजधानीलगायत सहरी क्षेत्रबाट आआफ्नो गाउँघर जाने भएकाले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबिच समन्वय गरी आवश्यक तयारी अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
दसैँका समयमा यात्रुले अनावश्यक दु:ख पाउन नपरोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।
दसैँको समयमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सञ्चालन, टिकट व्यवस्थापन, सडकको अवस्था तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिइने विभागले जनाएको छ ।




प्रतिक्रिया