काठमाण्डु– नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सहयोग घोषणा गरेका हुन्।
नेपाल रेडक्रस र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयबीच ‘समुन्नति कार्यक्रम’मार्फत नगद सहायता उपलब्ध गराउने सम्झौता भएको छ।
प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब ६ हजार परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्कका आधारमा लाभग्राही पहिचान गरी रकम सम्बन्धित परिवारको बैंक खातामा सिधै जम्मा गरिने रेडक्रसले जनाएको छ।
सहायतामा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका तथा सीमान्तकृत र जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइनेछ।
रेडक्रसले भदौ १० गतेको भोटेकोसी बाढीपछि राहत, खानेपानी तथा सरसफाइ, आवास, मानसिक स्वास्थ्य र संरक्षणलगायतका मानवीय सहायता कार्यक्रमसमेत निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।



प्रतिक्रिया